२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतबारे मतदान हुने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिने भएकी छिन्। विश्वासको मत लिने कार्यका लागि सबै तयारी पूरा भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था गरी अधिकृत सहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। असोज २४ गते बसेको नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी मुख्यमन्त्री शाक्यले कात्तिक ४ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन्।

हाल १ सय ९ सांसद रहेको बागमती प्रदेशमा बहुमतसहित ५६ सांसद रहेको नेकपा एमाले फुटेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। एमालेका १३ सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि एमालेको बागमती प्रदेश सरकार धरापमा परेको थियो।

भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेपनि शाक्यले विश्वासको मत लिन आलटाल गरेपछि आलोचना समेत हुँदै आएको छ। विश्वासको मत लिन प्रस्ताव पेश गरेको ११ दिनपछि कात्तिक ४ गतेको बैठकमा पनि दलीय आधारमा मन्तव्यमै सिमित राखेपछि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र–एकीकृत समाजवादी लगायतको विपक्षी गठबन्धन आक्रोशित भएको थियो।

प्रदेशसभाको बैठकमा विश्वास प्रस्तावमाथि छलफल गरी मुख्यमन्त्रीले जवाफ दिएपछि विश्वास छ कि छैन भनेर निर्णय गर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ। संविधानको धारा १८८ को उपधारा ३ मा विश्वास प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ।

प्रदेशसभामा यस्तो छ अवस्था

बागमती प्रदेशसभामा सभामुखसहित १ सय ९ सांसद छन्। एमाले सरकार टिकाउन ५५ सांसद आवश्यक पर्छ। ४३ सांसद मात्र रहेको सत्तारुढ एमालेलाई सत्ता टिकाउन १२ सांसद आवश्यक पर्छ। तर विपक्षी गठबन्धनबाहेक ७ सांसदमात्र रहेकाले मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ।

विपक्षी गठबन्धनसँग स्पष्ट बहुमतसहित ५९ सांसद रहेको छ। जसमध्ये गठबन्धनका माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र स्वतन्त्र(जनता समाजवादी)को १ सांसद रहेको छ। ३ सांसद रहेको विवेकशील साझाले एमाले सरकारलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ भने २–२ सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र राप्रपाले धारणा स्पष्ट गरेका छैनन्।

प्रकाशित: ९ कार्तिक २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App