८ वैशाख २०८१ शनिबार
राजनीति

धरानमा एमाले विवाद: नगर अधिवेशन पनि दुईतिर गर्ने तयारी, ९ वटा वडा कमिटीले बहिष्कार गर्ने

नेकपा एमाले धरान उपमहानगर कमिटीको आधिकाकिरता विवाद समाधान हुन नसकेपछि भोलि मंगलबार नगर अधिवेशन दुईतिर हुने भएको छ।

एमालेको संस्थापन पक्षको अधिवेशन धरान १० स्थित सैनिक भवनमा तयारी भइरहेको छ भने जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटल इजी राइडरमा अधिवेशनको तयारी गरेको छ। यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो। यद्यपि, १४ वटा वडाहरुमा मिलेर एकै ठाउँमा अधिवेशन भएपनि ६ वटा वडामा भने अलग अलग कमिटी गठन भएको छ।

एमालेको पालिका तहको अधिवेशन भोलि देशभर एकैसाथ उद्घाटन हुँदैछ। धरानसहित सुनसरी जिल्ला कमिटीमा एमालेको संस्थापन पक्ष र जेठ २ अघिको कमिटीमा आधिकारिता विवाद जारी छ। दुवै पक्षले अलग अलग स्थानमा अधिवेशन गर्ने प्रचारले वडा तहका नेता, कार्यकर्ताहरु अन्योलमा छन् भने मिलेर एकै ठाउँमा अधिवेशन गर्नुपर्ने दबाब पनि दिइरहेका छन्। धरानको नगर कमिटीको अध्यक्षमा दुवै पक्षको दाबी र बार्गेनिङ भइरहेको नेताहरुको भनाइ छ।

गत वर्ष पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भन्दै तत्कालिन धरान कमिटीको नेतृत्व आन्दोलनमा उत्रिएका थिए। धरानको एमाले माधव नेपाल पक्ष हावी थियो। नारायण सुवेदी अध्यक्ष रहेको उक्त कमिटी आन्दोलित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले हर्कजंग एभेङको अध्यक्षतामा एमाले नगर कमिटी गठन गरेको थियो। संस्थापन पक्षको सोही कमिटीले पार्टी कार्यालयबाट एमालेको गतिविधि सञ्चालन गर्दै आएको छ भने जेठ २ अघिको कमिटी पार्टी कार्यालय जानै छोडेको छ।

संस्थापन पक्षका अध्यक्ष हर्कजंग एभेङले नगर अधिवेशन एकै ठाउँमा मात्र हुने तर अर्को पक्षका केही नेताहरुले भ्रम फैलाएर अन्यत्र अधिवेशनको प्रचार गरिरहेको बताए। उनले भने, ‘एमाले धरानको अधिवेशन ९ गते सैनिक भवनमा मात्रै हुन्छ, त्यहाँ केपी शर्मा ओलीले भच्र्युल सम्बोधन गर्नुहुन्छ। योभन्दा अन्यत्र कुनै कार्यक्रम छैन।’ उनले विधान महाधिवेशन भइसकेपछि एकै ठाउँमा मात्र अधिवेशन हुने बताए। 

जेठ २ अघिको कमिटीका सचिव राजमणी निरौलाले भने सहमति नभए दुवैतिर अधिवेशन हुने दाबी गरे। यद्यपि एकै ठाउँमा मिलेर अधिवेशन गर्ने प्रयत्न जारी रहेको उनको भनाइ छ। ‘अनौपचारिक ढंगले कुराकानी भइरहेको छ, एकै ठाउँमा कार्यक्रम हुने सम्भावना पनि छ,’ निरौलाले भने, ‘संकटको घडीमा मतमतान्तर ढंगले जानुभन्दा हिजो नेतृत्व सम्हालेको, लामो समय धरानमा नेतृत्व गरेको कमरेड नारायण सुवेदीको नेतृत्व स्वीकार गर्नुपर्छ भन्ने हाम्रो सर्त हो।’

९ वटा वडा कमिटीले दुवै पक्षको कार्यक्रम बहिष्कार गर्ने

एमाले धरानको अधिवेशन दुई स्थानमा अलग अलग गर्ने तयारी भएपछि स्थानीय नेता, कार्यकर्ताहरुले मिलेर एकै ठाउँमा आयोजना गर्न दबाब पनि दिइरहेका छन्। यसैबीच, शनिबार निवार्चित भएको ९ वटा वडा कमिटी र एउटा शाखा कमिटीका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै एकै ठाउँमा नगर अधिवेशन नभए दुवै पक्षको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्।

वडा नं.१३, १६, १२, ७, २, १४, १४, १५, १८, ९ र २१ का अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीका आम कार्यकर्ताहरुको चाहना वमोजिम एक स्थानमा अधिवेशन नभए दुवै पक्षको कार्यक्रममा उपस्थिति नरहने घोषणा गरेका छन्।

उनीहरुले दुई स्थानमा हुने नगर अधिवेशनमा आआफ्नो वडा कमिटीबाट प्रतिनिधिसमेत नपठाउने निर्णय गरेको विज्ञप्तीमार्फत् जानकारी गराएका छन्। ‘सम्पूर्ण वडा तथा शाखा कमिटीलाई पनि यो जटिल राजनैतिक अवस्थामा एक हुन आह्वान गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

अध्यक्षहरुले दुई स्थानमा हुने भनिएको नगर अधिवेशनलाई बहिष्कार गर्न र नगरको दुवै समूहका नेताहरुलाई एक हुनको लागि दबाब दिन पनि सबै वडा र शाखा कमिटीहरुलाई आह्वानसमेत गरेका छन्।

एमालेको १३ नम्बर वडा कमिटीका अध्यक्ष घनश्याम तिम्सिनाले नगर अधिवेशन २ ठाउँमा भए आआफ्नो वडाबाट प्रतिनिधिहरुसमेत नपठाउने निर्णय गरिएको बताए। उनले भने, ‘जो जो नेताहरुलाई पद चाहिएको छ, एकै ठाउँमा अधिवेशन गरेर उठ्नुस, र जित्नुस्। तर २ ठाउँमा अधिवेशन भए हामी आउदैनौ, प्रतिनिधि पनि पठाउने छैनौं। एकै ठाउँमा अधिवेशन गरेर हलमा जो नेतृत्वमा आएपनि स्वीकार गर्छौं।’

प्रकाशित: ८ कार्तिक २०७८ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App