२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद

नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।

गत वर्ष संसद विघटनपछि तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला, नगर र वडामा कमिटी विस्तार गरेको थियो। सर्वोच्चको फैसला पछि ब्युँतिएको एमाले पार्टी परित्याग नगरेका नेताहरुले १० बुँदे सहमति गर्दै पार्टी कमिटी जेठ २ मा फर्कने भनिए पनि सुनसरीमा भने सहमति जुट्न सकेको छैन। विवाद भएको जिल्लामा सहमतिको लागि सहजीकरण गर्न कार्यदल गठन भएको थियो। कार्यदलले पनि सुनसरी जिल्ला कमिटीको विवाद मिलाउन नसक्दा यहाँका नेता, कार्यकर्ताहरु अन्योलमा छन्।

सुनसरीमा जेठ २ अघिको कमिटीका अध्यक्ष रमेश बस्नेत छन् भने केपी ओली पक्षमा गत वर्ष गठन भएको कमिटीका अध्यक्ष रेवतीरमण भण्डारी छन्। दुवै पक्षले आफूहरुको कमिटी आधिकारिक भएको दाबी गरिरहेका छन्। वडा अधिवेशन नजिकिएपछि दुवै पक्षको भेला र बैठकहरुले तीव्रता पाएपछि कार्यकर्ताहरु भने अन्योल छन्। कार्तिक ३ गते जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेत र केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले विज्ञप्ती जारी गर्दै कार्यदलले बस्नेतलाई अध्यक्ष, नन्दबहादुर बस्नेतलाई उपाध्यक्ष, पर्शुराम यादवलाई सचिव र लिलम बस्नेतलाई उपसचिवमा सिफारिश गरेको र प्रदेश सचिवालयको विस्तारित बैठकले अनुमोदन गरेको दाबी गरेका छन्।

सोही विज्ञप्तीमा शनिबार हुने वडा अधिवेशन र ९ गते हुने पालिकास्तरको अधिवेशनहरु २०७५ जेठ २ गते कायम भएको कमिटीको सहमतिमा मात्र सम्पन्न गर्न पनि निर्देशन दिइएको छ। यो विज्ञप्तीको प्रतिवाद गर्दै शुक्रबार संस्थापन पक्षका प्रचार प्रमुख रवि खनालले पनि विज्ञप्ती जारी गरेका छन्। खनालले कार्तिक ३ गते बस्नेत र निरौलाले जारी गरेको विज्ञप्ती झुठो, भ्रामक र तथ्यहिन भएको दाबी गरेका छन्। साथै, भदौ १३ गतेको अन्तर पार्टी निर्देशन १२ मा २०७५ जेठ २ गतेको अवस्थामा सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको तस्तै कार्यान्वयन गर्नु गराउनु भन्ने निर्देशन नभएको पनि खनालले विज्ञप्तीमा उल्लेख गरेका छन्। उनले भण्डारीको अध्यक्षतामा रहेको कमिटी नै क्रियाशिल रहेको र केन्द्रीय कमिटी, कार्यालयलेसमेत मान्यता दिएको दाबी गर्दै वडा र पालिकास्तरको अधिवशेन सम्पन्न गर्न पनि निर्देशन दिएका छन्।

धरानमा केहीमा अलग अलग अधिवेशनको तयारी

जिल्ला कमिटीमा झै एमालेको धरान उपमहानगर कमिटीमा पनि विवाद कायमै छ। धरानमा संस्थापन पक्षको कमिटी हर्कजंग एभेङको अध्यक्षतामा छ भने जेठ २ अघिको कमिटी नारायण सुवेदीको अध्यक्षतामा छ।

देशभर वडा अधिवेशनको तयारी हुँदै गर्दा धरानमा कतिपय वडामा दुवै पक्षले अलग अलग अधिवेशन गर्ने तयारी गरेका छन्। वडास्तरमा नै नेता, कार्यकर्ताहरु अधिवेशन संयुक्त गर्ने प्रयास पनि जारी राखेका छन्। तर कतिपय वडामा भने दुवै पक्षले अलग अलग अधिवशेन गर्ने समय, स्थान तोकेर निमन्त्रणा गरिरहेको छ। संस्थापन पक्षका अध्यक्ष एभेङ सबै वडामा प्रदेश, जिल्ला र नगरबाट समन्वय तथा सहयोग समिति तयार गरेर नेताहरु खटाएको बताउँछन्। एक, दुई वडाबाहेक अन्य सबैमा सहमतिमा नै अधिवेशन हुने र जेठ २ को च्याप्टर क्लोज भइसकेको उनले बताए। ‘विधान महाधिवेशनमा प्रतिनिधि भएर गइसकेपछि अब जेठ २ को च्याप्टर क्लोज भइसक्यो। एकाध वडाबाहेक सबैमा सहमति भएर वडा अधिवेशन हुदैछ,’ उनले भने, ‘समानान्तर गतिविधि भएको वडामा अर्को पक्षले वैधानिकता पाउन सक्दैन।’

जेठ २ को कमिटीका अध्यक्ष सुवेदी पनि सहमति गरेर संयुक्तरुपमा नै वडा अधिवेशन गर्न पहल भइरहेको तर केही वडामा अलग अलग अधिवेशन हुनसक्ने बताउँछन्। आफूहरु सहमतिकै लागि लामो समय चुप बस्दा कमजोरी ठानेको कारण अब संगठनिक गतिविधिलाई तीव्रता दिइएको उनले बताए। ‘सहमतिकै लागि हामी धेरै समय चुप बस्यौ, तर कमजोरी ठानियो। अब हामी पनि सांगठनिक गतिविधिलाई तीव्रता दिन्छौ। सहमति नभएको वडाहरुमा अधिवेशन अलग अलग नै हुन्छ,’ उनले भने।

प्रकाशित: ५ कार्तिक २०७८ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App