६ वैशाख २०८१ बिहीबार
राजनीति

लुम्बिनी प्रदेशका वनमन्त्री हमाललाई गृह जिल्ला बाँकेमा स्वागत

गृहनगर नेपालगन्जमा लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाललाई स्वागत गरिँदै। तस्बिरः नागरिक

लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्ला बाँकेमा स्वागत गरिएको छ। मन्त्री पद सम्हालेपछि पहिलोपटक गृहजिल्ला आइपुगेका उनलाई कांग्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले सोमबार स्वागत गरेका हुन्।

हमाललाई बाँकेको राप्ती सोनारी, कोहलपुर र नेपालगन्जमा स्वागत गरिएको हो। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी मन्त्री हमाललाई बाजागाजासहित स्वागत गरिएको थियो। हमालले प्रसिद्ध शक्तिपीठ बागेश्वरी लगायत विभिन्न मन्दिरको दर्शन समेत गरे।

ठूलो संख्यामा उपस्थित भएका कांग्रेस नेता तथा कार्यकर्ता, खेलाडी आफन्त तथा शुभेच्छुकले माला, खादा र अबिर लगाएर उनको स्वागत गरेका थिए। स्वागत पश्चात मन्त्री हमालले आफूमाथि ठूलो जिम्मेवारी थपिएको बताउँदै आफूमाथि आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पूर्वक काम गरेर देखाउने प्रतिवद्धता जनाए।

‘एउटा ठूलो जिम्मेवारी म माथि थपिएको छ, म माता बागेश्वीसँग प्रार्थना गर्दछु, उहाँले जुन म माथि विश्वास गर्नु भएको छ, त्यो विश्वासमा म खडो र इमान्दारीपूर्वक काम गरेर देखाउनेछु,’ उनले भने। मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको बताए। ‘अब अगाडि हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउन राम्रो हुन्छ, त्यसकारणले भन्नुभन्दा गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने।

नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२(ख) बाट निर्वाचित भएका थिए। गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ। उनी बाँकेमा रहँदा विभिन्न कार्यक्रम तथा भेटघाटमा ब्यस्त हुनेछन्।

प्रकाशित: १ कार्तिक २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App