१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्रीको टिप्पणीः सिंहदरबारबाट बालकोट हुँदै बार्दली पुगेका ओली बगरमा पुग्न सक्छन्

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा। तस्बिरः सन्देश/नागरिक

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी ओलीजस्तो नकच्चरो भएर संसदमा नबस्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा (एस)का स्थायी कमिटी सदस्यसमेत रहेका खतिवडाले सर्वोच्च अदालतले आफूहरुलाई अवैध भनेको खण्डमा केपी ओली जस्तो नकच्चरो भएर संसदमा नबस्ने बताए।

तर, संसदमा नारा लगाएको भरमा भने आफूहरुले संसद नछाड्ने स्पष्ट पारे। ‘जसले संसद भंग गर्‍यो त्यो संसदमा बसिरहनु पर्ने, अनि जसले संसद ब्यूँताउन लड्यो त्यो निस्किनुपर्ने,’ उनले अगाडि भने, ‘सर्वोच्च अदालतले हामीलाई अवैध भन्छ भने हामी एक सेकेण्ड पनि बस्दैनौं। केपी ओलीजस्तो दुईतिहाईको मत गुमाउने, दुईतिहाईको कम्युनिष्ट आन्दोलन र सरकार गुमाउने, तरपनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहने, १७४ सिटबाट घटेर ८३ मा झरिसक्दा पनि उपरखुट्टी लगाएर बस्ने काम हामी गर्दैनौ।’

नेता खतिवडाले संसदमा नारा लगाएकै भरमा संसदबाट सांसद निकाल्न पाउने हो भने केपी ओलीसहितका एमाले सांसदविरुद्ध सत्तापक्षका सबै सांसदले नारा लगाउने चेतावनी दिए। ‘संसदमा नारा लगाएको भरमा कसैले कसैलाई निकाल्न पाउने हो भने हामी पनि सत्तापक्षबाट १५५ जनाले नारा लगाउँछौं। त्यसबेला केपी समेतका मान्छेलाई निकाल्न मिल्छ कि मिल्दैन? त्यसकारण यस्ता नारा ५ दिन, १५ दिन होईन ५०० दिन लगाएपनि कानूनमा नभएका कुरा हुँदैन,’ उनले भने।

मन्त्री खतिवडाले केपी ओलीको छुद्र बोली र व्यक्तिगत अहंकार, घमण्ड र व्यक्तिवादी चरित्रले एमाले र स्वयं ओली पतनको बाटोमा गएको बताए। उनले यस्तै चरित्र हावि भइरहे सिंहदरबारबाट बालकोट हुँदै बार्दली पुगेका केपी ओली बगरमा पुग्ने टिप्पणी गरे। ओलीलाई जाली, झेली र बेइमानीको उपमा दिँदै उनले भने, ‘ओलीको छुद्र शव्दका कारण एमाले पतनको बाटोमा गइरहेको छ अहंकार, घमण्ड, व्यक्तिवादी चरित्रका कारण उनी बालुवाटारबाट बालकोट, बालकोटबाट बार्दली पुगेका छन्, अबपनि यहि पार्टी, यहि बोली रहिरह्यो भने बार्दलीबाट बगरमा पुग्न बेर लाग्दैन।’ उनले ओलीको चरित्र ढिला भएको टिप्पणी गरे।

खतिवडाले ओलीविरुद्ध सँगै लडेपनि एमालेमै रहेका १० भाईको स्थिति अहिले न हाँस्ने, न रुने स्थितिमा पुगेको टिप्पणी गरे। दश बुँदे सहमतिका नाममा बसेका साथीहरु अहिले कसरी बस्न सकेका होलान्? उनको प्रश्न थियो। ‘ओलीले न कहिल्यै गल्ती स्विकार्ने, माफी माग्ने काम गरेका छन्, न त विधिविधान नै मानेका छन्, बरु उल्टै त्यो ठीक थियो, मेरो विरुद्ध जानेहरु गद्धार हुन्, कुलंघार हुन्, तीनलाई कहिल्यै माफी दिन सकिन्न भन्दा लत्रक्क परेर बसेका छन्।’ 

उनले वर्तमान सरकार परमादेशबाट नभई सांसदहरुको दस्तखतबाट बनेको बताए। ‘केपी ओलीलाई दस्तखत गर्दा वैधानिक हुने, क्रान्तिकारी हुने, अनि अरुलाई गर्दा काईते, किर्ते, झूठो, बेइमानी र असंवैधानिक हुन्छ? त्यस्तो हुँदैन,’ उनले भने।

मन्त्री खतिवडाले केपी ओलीले पार्टीमा दासताको विकास गरेको आरोप लगाए। एमालेको विधान महाधिवेशनलाई हेर्न अनुरोध गर्दै उनले भने, ‘त्यहाँ नेकपा एमाले जिन्दावाद भनेको एक शव्द पनि कतै सुन्न पाउनु हुन्न। यदि सुन्नुभयो भने त्यहाँ आईएम विथ फलानो, केपी ओली जिन्दावाद छ। यो भनेको पार्टीको विधि, विधान, नीति, बिचार, सिद्धान्त होइन व्यक्तिलाई मात्रै प्रधानता दिइएको छ।’ केपी ओलीले कहिल्यै पनि भाषण, ईन्टरभ्यू होस् वा कार्यकर्ता भेलामा पार्टीको नीति, बिचार, सिद्धान्त, पार्टीको गन्तव्य, वर्ग संघर्ष लगायतका बारेमा नबोलेको उनले दाबी गरे।

मन्त्री खतिवडाले अबको चुनावपनि बाम लोकतान्त्रिक गठबन्धनबाट लड्ने बताए। उनले भने, ‘लोकतन्त्रको सर्तमा, गणतन्त्रको शर्तमा, दुई दुईवटा संविधानसभाले बनाएको संविधान जोगाउने शर्तमा र आवश्यक परे गठबन्धनबाट चुनाव लड्छौं।’ उनले आगामी निर्वाचनमा केपी ओली र राप्रपाबीच गठबन्धन हुने बताए।

‘केपी ओलीले एमाले कार्यकर्तालाई एकातिर गाई र अर्कोतिर सूर्य चिह्न काँधमा बोकाएर आगामी चुनाव लडाउँछन् र त्यसलाईचाहिँं उनले पवित्र र क्रान्तिकारी गठबन्धन भन्नेछन्,’ उनले भने। उनले अहिलेपनि केपी ओलीलाई घोच्यो भने कमल थापालाई दुख्ने गरेको टिप्पणी गरे।

प्रकाशित: २३ आश्विन २०७८ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App