२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेशसभामा सत्तापक्ष प्रतिपक्ष जुहारी

प्रदेश १ को प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षबीच सरकार गठन र सञ्चालन संवैधानिक कि असंबैधानिक भन्ने विषयमा जुहारी चलेको छ। शुक्रबारदेखि सुरू भएको प्रदेश १ को ९ आँै तथा हिउँदे अधिवेशनको पहिलो बैठकमा नेताहरूबीच सरकार गठन र सञ्चालनबारे जुहारी चलेको हो।  

विपक्षी दलका नेताहरूले असंवैधानिक रुपमा गठन र सञ्चालन भइरहेको साथै  अल्पमतमा परिसकेका कारण मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बहुमत पाएर पनि तत्कालिन नेकपाले जनादेशको सम्मान गर्न नसक्दा धेरै दल बनेर प्रदेशसभाको नयाँ हलमा अटाउन मुस्किल परेको बताए। उनले बहुमत गुमाएको अवस्थामा सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै मुख्यमन्त्री आफै संविधानको ज्ञाता भएकाले मुख्यमन्त्रीले  नै  निकास दिनुपर्ने धारणा राखे। उनले भने, ‘मुख्यमन्त्री आफै संविधानको ज्ञाता हुनुहुन्छ, उहाँले नै उपयुक्त निकास दिनुपर्छ।’  

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङवोले विशेष अधिवेशन बोलाउनुपर्नेमा षडयन्त्रपूर्वक  हिउँदे अधिवेशन बोलाइएको बताए। उनले असंवैधानिक रुपमा बनेको सरकारले बारम्बार संविधान मिचिरहेको आरोप लगाए। असंवैधानिक रुपमा सत्तामा बस्नु भन्दा राजीनामा दिएर मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए। ‘बहुमत गुमिसकेकाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ आङ्वोले भने।  

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले षड्यन्त्रको कडिका रुपमा प्रदेशसभा अधिवेशन बोलाइएको आरोप लगाए। उनले सरकारको संवैधानिकतामाथि संसदको बहुमतले प्रश्न उठाएको भन्दै संवेदनशील हुन आग्रह गरे। राईले भने ‘झण्डा हल्लाउने रहर पूरा भइसकेकाले अब, मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

यता सत्तारुढ नेकपा एमालेको तर्फबाट बोल्दै सांसद हिक्मतकुमार कार्कीले वर्तमान सरकारले नै विश्वासको मत पाउने दाबी गरे। उनले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले विश्वासको मत नपाउने अरु दलले विश्वासको मत पाउने भन्ने नहुने स्पष्ट पारे। ‘संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले विश्वासको मत नपाउने अरुले पाउने भन्ने हुँदैन,’ उनले भने, ‘हामी विश्वासको मत लिएर बहुमत सिद्ध गरेर देखाउँछौं ।’  

प्रदेशसभा बैठकलाई सम्बोधन गदै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रजातन्त्रमा बहुमतले अल्पमतलाई शासन गर्ने भए पनि प्रदेश १ मा अल्पमतले बहुमतमाथि शासन गरिरहेको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दीरा राईले वर्तमान सरकार राजनीतिक धर्म, नागरिक कर्तव्यबाट टाढा भएर सत्ताको खेलमा लागेको आरोप लगाइन्। 

प्रकाशित: २२ आश्विन २०७८ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App