९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एकैघरका सहोदर दाजुभाइ मन्त्री बन्ने अनौठो संयोग!

एउटै परिवारका सहोदर दाजु गजेन्द्र हमाल र भाइ सुरेन्द्र हमाल, तर अचम्मको संयोग मान्नुपर्छ, दुबै दाजुभाइ एकैदिन मन्त्री बन्न सफल भएका छन्। गजेन्द्र संघीय सरकारका ‘उद्योग वाणिज्य तथा आपुर्ति’ मन्त्री र सुरेन्द्र लुम्बिनी प्रदेश सरकारको ‘वन, वातावरण तथा भु–संरक्षण’ मन्त्री बन्न सफल भएका हुन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।  

हमाल परिवारका ६ दाजु भाइमध्ये गजेन्द्र र सुरेन्द्र मन्त्री भएका हुन्। परिवारका सबैभन्दा जेठा स्व. महेन्द्र हमाल, माइला स्व. रनेन्द्रबहादुर हमाल ‘भाइराजा’, साइला गजेन्द्र, काइला बिरिजेन्द्र, राइला सुरेन्द्र र कान्छा जितेन्द्र हुन्। हमाल परिवारबाट नेपाली कांग्रेसको राजनीतिमा सबैभन्दा बढी योगदान गर्ने ‘भाइराजा’ हुन्। उनी २०३३ सालदेखि ४४ सालसम्म नेपाली कांग्रेस बाँकेका सभापति भएका थिए। भाइराजाको अल्पायुमै निधन भएको थियो।  

२०१० साल फागुन ८ गते जन्मेका गजेन्द्र २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए। २०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो। वि.सं. २०३९ र २०४४ सालमा वडा अध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए। नेपाली कांग्र्रेसका नेता सुशील कोइरालासँगको टकरावका कारण उनी देउवातिर लागेका थिए।  

कोइराला बाँचुञ्जेल उनको टकराव रहिरह्यो। पार्टीले उनलाई पहिलो संविधान सभा निर्वाचन २०६४ मा टिकट दियो। बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी नेकपा माओवादीका नेता तिलक परियारसँग पराजित भएका थिए। त्यसयता उनी पार्टीको गतिविधिमा कमै मात्रामा देखिन्थे। मुलुकमा हिन्दूराज्य स्थापना गर्नुपर्छ भन्दै उनले अभियान नै थालेका थिए। केही वर्षअघि उनले नेपालमा हिन्दूराज्य स्थापनाका लागि दबाबस्वरुप भारतबाट ठूलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट गराएका थिए।  

गजेन्द्र हाल नेपाली कांग्रेसको क्रियाशील सदस्य भएपनि पार्टीको कुनै पदमा थिएनन्। उनी सांसद पनि होइनन्। मन्त्रीमा नियुक्त भएका गजेन्द्रले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। ‘मैले मन्त्रीको रुपमा पाएको जिम्मेवारीलाई अवश्य पुरा गर्नेछु,’ गजेन्द्रले नागरिकसँग भने।  

वि.सं. २०१९ सालमा जन्मिएका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाए। उनी लुम्बिनी प्रदेश सभाका सांसद हुन्। बाँके, प्रदेश सभा–२(ख)बाट निर्वाचित भएका थिए। १३ वर्षकै कलिलो उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका उनी खेलकुदसँगै विद्यार्थी राजनीतिमा पनि होमिन पुगेका थिए। हमाल भारत्तोलन खेलका ओलम्पियन हुन्।  

तत्कालिन नेपालगन्ज नगरपालिकाका उपमेयर भएका सुरेन्द्र नेपाली कांग्रेसको विभिन्न पदमा रहेर जिम्मेवारी निभाइसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषदको पूर्वकोषाध्यक्ष पनि हुन्। सुरेन्द्रले शुक्रबार नै शपथ गर्ने तयारी भएपनि अन्य मन्त्रीको नाम टुंगो नलाग्दा पछाडी सरेको छ। ‘मेरो पृष्ठभूमि खेल क्षेत्र भएको हुँदा खेलकुद मन्त्रालय मागेको हुँ, तर मिलाउने क्रममा वन मन्त्री मिल्यो, मेरो मन्त्री पद निश्चित नै भयो, तर सपथ नलिदाँसम्म मन्त्रालय फेरबदल हुन पनि सक्छ,’ सुरेन्द्रले नागरिकसँग भने। बाँकेले संघीय र प्रदेश मन्त्री एकैदिन पाएको, त्यसमा पनि एकै परिवारका दाजुभाइ मन्त्री बनेपछि यतिबेला नेपालगन्जबासी हर्षित भएका छन्। सामाजिक सञ्जालमा उनीहरुलाई आफन्त, शुभेच्छुकले बधाई दिएका छन्।  

नेपाली कांगे्रस बाँकेका सभापति किरण कोइरालाले बाँकेबाट नेपाली कांग्रेसका दुई जना(एकै परिवारका दाजुभाइ) संघीय र प्रदेश सांसद हुँदा खुसी लागेको बताइन्। ‘यो धेरै खुसीको कुरा हो, बाँकेको विकासमा उहाँहरुले अवश्य पनि काम गर्नुहुनेछ,’ उनले भनिन्।

गजेन्द्र र सुरेन्द्रका कान्छा भाइ जितेन्द्रले परिवारका दुई दाजुभाइ एकैदिन मन्त्री हुँदा खुसी लागेको बताए। ‘दाजुहरु मन्त्री बन्दा खुसी लागेको छ, परिवार र आफन्त मिलेर दीपावली परि गर्यौं,’ उनले भने।  

प्रकाशित: २२ आश्विन २०७८ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App