१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री आचार्यद्वारा संयुक्त सरकार गठन गर्न आग्रह

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संयुक्त सरकार गठन गर्न आग्रह गरेका छन्। बिहीबार प्रदेश १ को प्रदेशसभा भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले जनताका पक्षमा काम गर्ने सबैको उद्देश्यले भएको र प्रदेश १ मा कुनै पनि दलको बहुमत नभएका कारण यहि सरकारमा सबै दल समावेश भएर संयुक्त सरकार गठन गर्न आग्रह गरेका हुन्।  

आचार्यले आफ्नो पहिलो प्रयत्न संयुक्त सरकार गठनकै लागि हुने स्पष्ट पारेका छन्। संयुक्त सरकार गठन हुने अवस्था नआए मात्रै संसदबाट विश्वासको मत लिन आचार्यले बताए। उनले भने, ‘पहिलो प्रयास सबै दलको सहमतिका आधारमा संयुक्त सरकार गठन गर्ने त्यसो नभएको खण्डमा मात्रै विश्वासको मत लिने प्रक्रियाअघि बढाउने हो।’

आचार्यले दशैंअघि विश्वासको मत लिने प्रक्रिया सरकारले नथाल्ने पनि बताए। उनले भने, ‘दशैं मनाऔं, ठण्डा दिमागले सोचौं त्यसपछि संयुक्त सरकार गठन गर्ने वा विश्वासको मत लिने भन्ने विषयमा प्रवेश गरौंला।’ मुख्यमन्त्री आचार्यले प्रदेश १ मा कुनै दलको बहुमत नभएको र कसैले पनि बहुमत सिद्ध गरेर नआएको र सबैभन्दा ठूलो दलकै नेतृत्वमा सरकार रहेको जानकारी दिए। उनले सरकार छाड्न दबाब आइसकेको भए पनि कसैले बहुमत सिद्ध गरेर नआएकाले संविधान र कानुन बमोजिम विश्वासको मत लिने लगायतका प्रकृयाअघि बढ्ने स्पष्ट पारे। ‘विश्वासको मत लिने विषयमा संविधानविपरित  सरकार जाँदैन’ उनले भने ‘दुईचार दिन ढिलो चाँडो हुनसक्छ।’

यता प्रतिपक्षी दलका नेताहरूले भने सरकारले बहुमत गुमाइसकेर पनि सत्ता छाड्न आनाकानी गरिरहेको आरोप लगाएका छन्। उनिहरूले तत्काल सरकार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका छन्। प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक  केदार कार्कीले सरकार अल्पमतमा परिसकेको र  विश्वासको मत पाउने आधार पनि नभएकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न सुझाव दिए।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बर्खैमा हिउँदे अधिवेशन बोलाएर प्रदेश सरकारले रेकर्ड राखेको बताए। उनले दशैंअघि नै नियमित हिउँदे अधिवेशन बोलाउनु सरकारको कपटपूर्ण चालबाजी भएको स्पष्ट पारे।

प्रदेशसभामा सरकार पक्षका ४० र विपक्षका ५० सांसद बसेर बैठक गरेको दृष्य हेर्न नपरोस् भन्दै नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई आग्रह गरे। प्रदेश १ को प्रदेशसभा भवन ५ करोड १७ लाख ७३ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा तीन करोड ११ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रदेश १  प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

प्रकाशित: २० आश्विन २०७८ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App