८ वैशाख २०८१ शनिबार
राजनीति

उपेन्द्रलाई ‘उपप्रधानमन्त्री’ मोह

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री पद लिएर पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्।  

यादवनिकट स्रोतका अनुसार उनको चाहना उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय हो। तर प्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटक कसैलाई पनि उपप्रधानमन्त्री दिन चाहेका छैनन्। जसपालाई उपप्रधानमन्त्री दिए कम्तीमा तीनवटा उपप्रधानमन्त्री राख्नुपर्ने, त्यसबेला रामचन्द्र पौडेल पक्षलाई समेत एउटा उपप्रधानमन्त्री पद दिनुपर्ने देउवाको बुझाइ छ। तीनवटा उपप्रधानमन्त्री राख्दा सरकार बदनाम हुने र यसको अपजस देउवाले भोग्नुपर्ने देउवानिकट नेताहरूको भनाइ छ।  

पार्टीबाट नेतृत्व गर्दै यादव सरकारमा गएनन् भने पार्टीबाट कसले नेतृत्व गर्ने भन्नेमा पार्टीभित्र विवाद बढ्ने यादवनिकट नेताहरूको भनाइ छ। राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रमम यादवले यसपटक आफू सरकारमा नजाने बताएका थिए। तर शनिबार नागरिकसँगको सम्पर्कमा उनले आफू सरकारमा जाने/नजाने विषयमा छलफल नभएको बताए। ‘म सरकारमा जाने÷नजाने विषयमा कुनै निर्णय भएको छैन,’ यादवले भने, ‘यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ।’  

स्रोतका अनुसार यादवले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयमा चासो राखेपछि मन्त्रालय बाँडफाँटमा सत्तारुढ गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन। अध्यक्ष यादवले मन्त्रालय बाँडफाँटको बारेमा आइतबारबाट मात्र छलफल हुने बताए। आउने हप्तासम्म मन्त्रालय बाँडफाँटमा सहमति भई सरकार विस्तार हुने बताए। मन्त्रालयमा बाँडफाँटमा सहमति जुट्न नसकेको कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको यादवको भनाइ छ। यादवनिकट स्रोतका अनुसार परराष्ट्र नपाएपछि कम्तीमा भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने जसपाको अडान छ। भौतिक पूर्वाधारमा माधव नेपालको नेकपा (एस)ले पनि चाहना राखेको छ।  

जसपानिकट स्रोतका अनुसार जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले यसपटक उपेन्द्र सरकारमा नजाउन भन्ने चाहन्छन्। भट्टराइले पार्टीबाट नेतृत्व गर्दै श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन्। श्रेष्ठलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाए मधेसमा जसपाको आधार कमजोर हुने र यसको फाइदा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई पुग्ने विश्लेषण यादव महेन्द यादव निकट नेताहरूको भनाइ छ। त्यसैले पार्टीबाट नेतृत्व गर्दै यसपटक आफैं सकरारमा जान महेन्द्र यादव र रेणु यादवले चाहेका छन्–स्रोतले भन्यो। उपेन्द्र र रेणु दुवै नेता सप्तरीका हुन्। एउटै जिल्लाबाट दुई नेतालाई सरकारमा पठाउदा विरोध हुने भएकोले यसपटक उपेन्द्र सरकारमा नगई आफंै सरकारमा जान रेणुले चाहेको स्रोतले बतायो।  

यता रेणु सरकारमा गइनन् भने महिलाको तर्फबाट आफूले अवसर पाउँछु कि भन्ने आशा अमृता अग्रहरिलाई छ। त्यसैले अमृताले पार्टी अध्यक्षले नै पार्टीबाट नेतृत्व गर्दै सरकारमा जानुपर्छ भन्ने लबिङ गरेकी छन्। सर्लाहीबाट महेन्द्र यादव र प्रमोद साह दुवै नेता सरकारमा जान चाहेका छन्। साहलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले सुरुमै दिएका छन्। यसैगरी पर्साबाट रामसहाय यादव र प्रदीप यादवमध्येबाट एकजनालाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतको भनाइ छ। प्रदेश ५ बाट इस्तियाक राइलाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो। यसैगरी मृगेन्द्रसिंह यादवको नाम पनि चर्चामा रहेको छ।

प्रकाशित: १७ आश्विन २०७८ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App