८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ।

सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।

'दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाए।' नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। मन्त्री डा.खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ।  

आजै मन्त्री डा.खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए। मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरे पनि उक्त नियोगले जनाएको छ। महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ। मन्त्री डा.खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छन्। रासस

प्रकाशित: ११ आश्विन २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App