१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले गरेको निर्णयमा व्यक्तिलाई निशाना बनाइयो : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले  ललिता निवास प्रकरणमा पूर्वाग्रह राखेर आफूविरुद्ध मुद्धा चलाइएको आरोप लगाएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गच्छदारले ललिता निवास प्रकरणमा आफ्नो कुनै दोष नहुँदा नहुँदै पनि राजनीतिक पूर्वाग्रह राखेर मुद्धा लगाइएको आरोप लगाएका हुन्।

सरकारले गरेको निर्णयमा व्यक्तिलाई मुद्धा चलाउनु गलत भएको गच्छदारको भनाइ छ। उनले भने ‘सरकारले गरेको निर्णयमा एकजना व्यक्तिलाई मात्रै निशाना बनाइयो।’ ललिता निवास प्रकरणमा आफ्नो कुनै दोष नभएको दाबी गरे।

उनले मन्त्रिपरिषद्ले गरेको निर्णयमा व्यक्तिलाई दोष लगाउन नहुने बताए। मन्त्रिपरिषद्मा आफूले प्रस्तावमात्रै लगेको स्पष्ट पारे। उनले भने, ‘प्रस्ताव लानेलाई कार्वाही गर्ने भए निर्णय गर्ने प्रधानमन्त्रीलगायतका अरु मन्त्रीहरूलाई चाहिँ किन छुट दिइयो?’ गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक जीवनमा राज्यको एक पैसा पनि हिनामिना नगरेको र अनियमितता गरेर धन आर्जन पनि नगरेको बताए।

गच्छदारले आफू अदालतमा मात्रै नभई जनताको अदालतमा पनि हाजिर भइसकेका कारण जनताले दोषी ठाने मृत्युदण्ड स्वीकार गर्न पनि तयार रहेको बताए। उनले भने, ‘जनताले मलाई दोषी ठान्छन् भने म मृत्युदण्डको सजाय भोग्न पनि तयार छु।’

गच्छदारले अदालत र जनताको अदालत दुबैबाट न्याय पाउने बताए। केही उतारचढावकै कारण प्रजातन्त्र, लोकतन्त्र र जनताको अधिकार प्राप्तिका लागि समर्पित गरेको ५० वर्ष लामो राजनीतिक जीवन यत्तिकै नसकिने स्पष्ट पारे। उनले अझै ११ वर्ष सक्रिय राजनीति गर्ने पनि बताए।  

विमानस्थलमा गच्छदारको शक्ति प्रदर्शन  

बिहीबार दिउँसो विराटनगर विमानस्थलमा उत्रिएका गच्छदारको पक्षमा ठूलो संख्यामा कार्यकर्ता विराटनगर विमानस्थल परिसरमा पुगेका थिए। सुनसरी र मोरङका नेपाली कांग्रेसका नेता कार्यकर्ता गच्छदारको स्वागतमा विराटनगर विमानस्थलमा पुगेपछि विमानस्थलको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो। 

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा ठाउँ खाली नभएपछि बगैंचा तथा विराटनगर विमानस्थल प्रवेश गर्ने सडकमा सवारी साधन पार्किङ गर्नुपरेको थियो। विराटनगर विमानस्थल प्रवेश गर्ने सडकमा विराटनगर–धरान ६ लेन राजमार्गको प्रवेशद्वारदेखि नै सवारीसाधन र नेता कार्यकर्ताको भीड लागेको थियो। गच्छदार विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिँदा कार्यकर्ताहरूले गच्छदारको पक्षमा नारावाजी गरेका थिए। उनीहरूले झुटा मुद्धा खारेज गर्न र नेता गच्छदारलाई न्याय दिन माग राखेका थिए। ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लगाएपछि गच्छदार पहिलोपटक विराटनगरमा सार्वजनिक रुपमा देखापरेका हुन्। उनले आफू १९ महिना पछि विराटनगर आएको बताए।  

प्रकाशित: ७ आश्विन २०७८ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App