२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता हुँदैन: परराष्ट्रमन्त्री

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्।

बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताएका हुन्।  

उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे। मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताए।  

उनले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमती कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे।  

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले भने, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुनेछ। हाम्रो अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै हाम्रो राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीलाई समेत ध्यानमा राखेर सबै दलका नेताहरुसँग परामर्श गरेर, सबैसँग सहमती गरेर हाम्रो अहिलेको जल्दाबल्दा समस्याहरु, साथसाथै भावी दिनमा आउन सक्ने समस्याहरुका लागि पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ।  

त्यसैगरी परराष्ट्र मन्त्रालयलाई एउटा गतिशील, आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउनका लागि पनि मेरो प्राथमिकता हो। एससीसीबारे अध्ययन गरेर यसले पार्न सक्ने प्रभावहरुबारे र यसको बारेमा सृजना भएका केही तथ्यगत, केही मिथ्यागत कुराहरुलाई पनि ध्यान दिएर नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्दा नेपालको सार्वभौमिकता, हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो सुरक्षा र हाम्रो आर्थिक हितलाई प्रवद्र्धन गर्नका लागि हामीले सबै राष्ट्रहरुसँग खास गरेर छिमेकी राष्ट्रहरुसँग घनिष्ट र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्ने हो।’

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पारे। उनले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने बताए। नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदुत नियुक्तीको प्रक्रिया अघि बढाउने जानकारी समेत दिए।

प्रकाशित: ६ आश्विन २०७८ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App