२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

सिरहाको भगवानपुर गाउँपालिका–३ गरसाहा गाउँका राजलाल यादव २०६४ साल अघिसम्म ‘सभापतिजी’ भनेर परिचित थिए। २०६४ सालमा संविधानसभाका लागि भएको निर्वाचनमा विजयी भएपछि उनी बिनाविभागीय मन्त्री बने। त्यसपछि उनको परिचय फेरिएर ‘मन्त्रीजी’ भएको छ। सामाजमा उनको हैसियत पनि उचालिएको छ।

सिरहा गोलबजार नगरपालिकाका शत्रुधनसिंह कोइरी २०६४ सालअघिसम्म गुमनाम थिए। संविधानसभा निर्वाचन जितेपछि उनी माननीय भए। छोटो समय राज्यमन्त्री बनेका उनको सामाजिक परिचय अझै ‘मन्त्रीजी’ छ। सिरहा जिल्ला विकास समितिको उपसभापति भएका गोलबजार नगरपालिका चोहर्वाका लीलानाथ श्रेष्ठलाई पनि समाजले सभापति भनेर चिन्छ। 

समाजमा प्रभाव जमाउन सफल भएकैले होला अहिले पनि उनी सभापति भनेर चिनिन्छन्। पछिल्लोपटक प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन जितेपछि उनी मन्त्री बने। त्यसपछि उनको परिचय फेरिएको छ। उनले समाजमा मन्त्रीजीका रूपमा चिनिन्छन्।

यी प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूले मन्त्री बनेपछि समाजमा इज्जत, सम्मान, मानमर्यादा मात्र आर्जन गरेका छैनन्, शक्ति पनि आर्जन गरेका छन्।

पछिल्लो समय मन्त्री बन्नकै लागि मरिहत्ते गर्ने धेरै छन्। मन्त्री नपाए पार्टी नै फुटाइदिएको पनि देखिएको छ। तर, मन्त्रीका लागि मरिहत्ते गर्ने राजनीतिक समाजमा कहिल्यै मन्त्री नताकेकाहरू पनि छन्, जसको प्रतिष्ठा र इज्जतको ग्राफ मन्त्री बनिसकेकाको भन्दा कैयौं गुणा माथि छ। सोहीमध्ये एक हुन्, लहान नगरपालिका बस्तीपुरका प्रदीप गिरी। उनी सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ। ‘धन आर्जन गर्नकै लागि नै नेताहरू मन्त्री बन्न मरिमेट्छन्,’ उनी भन्छन्, ‘मन्त्री भएपछि राज्यको ढुकुटीमा मनमौजी गर्न पाइन्छ।

नीतिगत निर्णय गरेर ढुकुटीमा राज गर्न पाइन्छ। सांसद भएपछि कसरी मन्त्रीको कुर्सीमा बस्न पाइन्छ भने दाउमै उनीहरूको ध्यान हुन्छ। मानप्रतिष्ठा र इज्जत त मन्त्री पदसँगै जोडिएर आउँछ तर यस पद्को प्रमुख आकर्षण भनेको धनु आर्जन नै हो। मन्त्री बन्नुअघिको र मन्त्री बनिसकेपछिको आर्थिक हैसियत तुलना गरेर हेर्दा धनु आर्जन नै यो पदको प्रमुख आकर्षण भएको प्रस्ट हुन्छ।’

झाका अनुसार मन्त्री बन्न लालायित हुनुमा मान, प्रतिष्ठा, इज्जत आर्जन गर्नु रहे पनि भित्री कारण शक्ति र धन आर्जन गर्नु नै हो। उनी भन्छन्, ‘मन्त्री बनेपछि सुख, सयल, सुविधाको उपयोग गर्न पाइन्छ। शक्ति प्रदर्शन गर्न पनि मन्त्री पद पाउन मरिमेट्छन् नेताहरू। 

मन्त्री बनेपछि राज्यको ढुकुटीलाई आफ्नो तजबिजमा बाँड्न पाइन्छ। बजेट आफूअनुकूल वितरण गर्न पाइन्छ। एकपटक मन्त्री बनेपछि मुक्ति पाएजस्तै ठान्छन् नेताहरू। उनीहरूका लागि स्वर्ग भनेकै मन्त्री हो। मन्त्री पदसँग पैसा र पावर जोडिएको हुन्छ।’ मन्त्री बनेपछि सत्ता र शक्तिको बलमा सजिलै कार्यकर्तालाई आफ्नो पक्षमा पार्न सकिने भएकाले पनि नेताहरूको ध्यान यसतर्फ जाने गरेको उनको तर्क छ।

राजनीति गरेपछि सांसद र मन्त्री बन्ने लालसा प्रायः सबैको हुने राजनीतिकर्मी खुसीलाल मण्डल बताउँछन्। मण्डल भन्छन्, ‘राजनीतिमा मूल्य र मान्यताभन्दा पद र पावर हाबी भएको छ। मन्त्रीका लागि राजनीतिक सिद्धान्त, मूल्य मान्यता सबैलाई तिलाञ्जली दिन तयार हुन्छन् नेताहरू। मन्त्रीका लागि मरिहत्ते गर्ने प्रवृत्तिले राजनीतिक दललाई मात्र अस्थिर बनाएको छैन, यसले लोकतन्त्रलाई समेत कमजोर पार्दै गएको छ।’ यो प्रवृत्तिको अन्त नभए यसले अन्ततः लोकतान्त्रिक व्यवस्थालाई नै अस्थिर बनाउने उनको बुझाइ छ।

अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार छ। गठबन्धनमा आबद्ध दलमध्ये जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पठाउने नेताको नाम टुंगो लगाउन सकेका छैनन्। 

जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खोरज नभएसम्म सरकारमा सहभागी हुन नसक्ने बताइसकेका छन्। यादवको भयको कारण हो– पार्टीमा मन्त्रीका आकांक्षी धेरै हुनु र मन्त्री नपाउने पार्टी छाडेर जालान् भन्ने। धेरै आकांक्षी र थोरै मन्त्रालय पाएपछि नेताहरूलाई सन्तुष्ट पार्न यादवलाई सकस छ। मन्त्री बन्न मरिमेट्नेबाट यादव मात्र हैरान छैनन्। सत्ता घटक दलका अरू नेता पनि निराश छन्।

प्रकाशित: ५ आश्विन २०७८ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App