६ वैशाख २०८१ बिहीबार
राजनीति

जबसम्म एमसिसी खारेज हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ : नेमकिपा

अमेरिकी मिलेनियम च्यालेन्ज सम्झौता (एमसिसी)को विरुद्ध संघर्षरत नेपाल मजदुर किसान पार्टीले एमसिसी खारेज नभएसम्म आन्दोलन जारी हुने बताएको छ। विगत २ हप्तादेखि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा मात्र नभएर देशका विभिन्न जिल्लाहरुमा एमसिसीविरुद्ध जुलुस प्रदर्शन गरिरहेको पार्टीले एमसिसीविरुद्ध आन्दोलन जारी राख्ने जनाएको हो।

भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा पार्टीका सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँलगायतले एमसिसीविरुद्ध जनजागरण अभियान सञ्चालन गरिरहेको चर्चा गर्दै अमेरिकी साम्राज्यवादले एमसिसीको नाममा एसियामै युद्ध थापर्ने खोजेको बताए।

पार्टी नेताहरुले अमेरिकी सहयोगको नाममा सार्वभौमिकतालाई बन्धकमा राख्ने षड्यन्त्रमा सत्ताधारी दलहरु फसेको समेत बताए। जुलुसलाई सम्बोधन गर्दै सांसद सुवालले पार्टीले सडक र सदनमा एमसिसी विरुद्ध संघर्ष गरिरहेको जानकारी दिए।

उनले एमसिसी सम्झौताका बारेमा सत्ताधारी दल र प्रतिपक्षीले नबोल्नुलाई जनताप्रतिको धोका भएको बताए। ‘एमसिसीबारे शेरबहादुर देउवा, प्रधानमन्त्रीलगायत नेपाली काँग्रेसका नेता, गठबन्धन सरकारले नबुझ्नु, प्रमुख प्रतिपक्षले नबुझ्नु भनेको जनतालाई धोका हो, देशलाई धोका हो, बुझ पचाएको हो’ सांसद सुवालले भने।

सांसद सुवालले एमसिसीका वुंदावुंदाहरुलाई सन्देशपूर्ण तरिकाले लिनुपर्ने बताउँदै अमेरिकाले एमसिसीमार्फत् एसियामा युद्ध थापर्ने नीति अवलम्बन गर्न खोजेको समेत बताए। उनले नेपालको संविधानभन्दा माथि हुुने गरी गरिने सम्झौताले नेपालको सार्वभौमिकतामाथि आक्रमण हुने प्रष्ट भएकाले सोबारे सरकारमा गएका दलहरुले आवाज नउठाउनु विडम्वनापूर्ण रहेको बताए। कार्यक्रममा सांसद गोसाइँले विगत २ हप्तादेखि एमसिसीविरुद्ध सडक संघर्ष गरिरहेको बताए। ‘आत्मसमर्पणका लागि हैन, आत्मस्वाभिमानका लागि लड्छौं, हामीलाई पराधीनता स्वीकार्य छैन।’

उनले भने, जबसम्म एमसिसीको खारेजी हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ। हामी एमसिसीको पक्षमा छैनौं, शान्तिको पक्षमा छौं।’ उनले गाउँगाउँमा पुगेर एमसिसीको विषयमा चेतना जगाइरहेको समेत बताए।

कार्यक्रममा नेमकिपा सूर्यविनायकका अध्यक्ष महेन्द्र बखुन्छेंले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध सडकमा आउनुपरेको बताए। उनले शासक दलहरुको कारण नेपाली जनताले दुःख पाएको र देशको विकास नभएको बताए।

उनले २०७४ सालदेखि नै एमसिसीको विरोध गर्दै आइरहेको बताउँदै अमेरिकी सरकारले नेपाली जनतालाई ५५ अर्बको लोभ देखाएर नेपालको सार्वभौमितामा आँच पुर्याउने काम गरेको बताए। जुलसमा सहभागीहरुले एमसिसी चाहिँदैन, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एसियालाई युद्धभूमि दिन दिँदैनौंलगायतका नारा लगाएका थिए।

प्रकाशित: ३ आश्विन २०७८ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App