४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले नेता देशव्यापी दौडाहामा

पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । 

विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो । झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन् । युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन् । केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।

बिहीबार सुवास नेम्वाङ उदयपुरको गाईघाट, भीम रावल कैलाली हुँदै अछाम, घनश्याम भुसाल रूपन्देही, योगेश भट्टराई पर्वत, सुरेन्द्र पाण्डे चितवन, पोखरा हुँदै बाग्लुङ पुगेका छन् ।महासचिव ईश्वर पोखरेल काभ्रे पुगे। युवराज ज्ञवाली, विष्णु रिजाललगायतका नेता कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्किसकेका छन्। 

असोज २ गते एमाले निकट निजामती कर्मचारीले आयोजना गर्ने कार्यक्रममा ओलीले सम्बोधन गर्ने भएका छन्। धेरैजसो कार्यक्रममा एमाले नेताहरूले चुनाव लक्षित भाषण गर्न थालेका छन्। उनीहरूले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना एमालेले मात्रै गरेको र त्यो लक्ष्य पूरा गर्न एमाले नै सरकारमा जानुपर्ने धारणा राखिरहेका छन्। आगामी निर्वाचनमा एमालेकै जित हुने दाबी उनीहरूले दोहोर्‍याइरहेका छन्।  

एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले देशभर संगठन बनाउन प्रयास गरिरहेका बेला एमालेले नेताहरूलाई देशभर परिचालन गरेर नेताकार्यकर्ता रोक्ने मात्र होइन, आगामी स्थानीय निर्वाचनका लागि वातावरण बनाउन थालेको हो। ‘एमालेलाई कसरी बलियो बनाउने भन्ने अभियानमा छौं। बाहिर जानेजति गइसके। उनीहरूलाई हेरेर भन्दा पनि जनतालाई हेरेर संगठन गर्नुपर्छ’, उपमहासचिव विष्णु पौडेलले भने। विधान अधिवेशनको समेत तयारी गर्नुपर्ने भएकाले देशव्यापी रूपमा कार्यक्रम तय गरेको उनले बताए। एमालेले असोज १५ देखि १७ सम्म पहिलो विधान महाधिवेशन गर्ने भएको छ। महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।

त्यसअघि नै विवाद निरूपण कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गरिसक्ने नेताहरूले जनाएका छन्। १० बुँदे कार्यान्वयन गर्न पार्टीले आन्तरिक सर्कुलर गरिसकेको छ। वाग्मती र सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनमा समस्य देखिए पनि अन्य प्रदेशमा कार्यान्वयन भइरहेको नेताहरूले बताएका छन्। 

सुदूरपश्चिम उपाध्यक्ष भीम रावल र लेखराज भट्टबीच इन्चार्ज को भन्ने विषयलाई लिएर विवाद छ। उनीहरूले आफ्नै तरिकाले कार्यक्रम गरिरहेका छन्। तर दुवैले एकले अर्कालाई अस्वीकार गरेका छैनन्। 

वाग्मतीमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापालाई एक ठाउँमा राखेर कार्यक्रम थालिएको छ। ‘अहिले भइरहेका कार्यक्रमको उद्देश्य पार्टीलाई थप क्षति नपुगोस् र स्थानीय तहमा पार्टीको वर्चश्व कायमै रहोस् भन्ने छ’, एमालेका एक नेताले भने। 

प्रकाशित: १ आश्विन २०७८ ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App