१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको टिप्पणीः माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडे

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गरेका छन्।  

आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उनले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गरेका हुन्। यस्तै, माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आव्हान समेत गरेका छन्।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा(एमाले)मै रहनका लागि आव्हान गरेका हुन्। नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उनले कार्यकर्ताको भविष्यसँग खेलवाड गरेको पनि बताए।  

नेता नेपालको भविष्य नभएको भन्दै उनले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे।

‘म माधव नेपाललाई भन्दिनँ। माधव नेपाले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा। कार्यकर्ता फर्किनुस्। झुक्किएका साथीहरु फर्किनुस्, उनले भने, माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ।  

केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताए। उनले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गरे।  

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गरे। उनले माओवादी केन्द्र र एमाले एकीकरण पछिको मुल पार्टी आफूहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए। विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गरे।  

यसैगरि, अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताए। वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उनले आलोचना गरे। आफूहरुले बजेट ल्याउन नरोकेको भन्दै उनले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गरे।

उनले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी समेत दिए। आगामी दिनमा एमाले बाजागाजासहित सिंहदरबारको मुल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उनले दाबी गरे।

प्रकाशित: ३१ भाद्र २०७८ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App