१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लवको चेतावनीः एमसिसी कुनै पनि हालतमा लागू हुन दिन्न

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमसिसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन्।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसिसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गरे। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे।

एमसिसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ? भनि प्रश्न पनि गरे। 

महासचिव चन्दले भने, ‘हामी लड्छौं। कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं। यो कुनै लुकाईछिपाईको कुरा छैन। आज पनि हामी भन्छौं–एमसिसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ। कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन।'

महासचिव चन्दले एमसिसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए। उनले आफूहरुले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गरे।

प्रकाशित: २८ भाद्र २०७८ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App