१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

सभापतिमा ६ र सचिवमा ३ जनाबीच प्रतिश्पर्धा

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगीसहितका आकांक्षी छन् । कांग्रेसको महाधिवेशनको तालिका अनुसार आगामी असोज ९ गते हुने पालिकास्तरीय चुनाव अन्तर्गत पोखरा महानगर समितिको सभापतिका लागि एक महिलासहित ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गर्ने मध्ये दुईजना हालकै वडाध्यक्ष, दुईजना पत्रकार र एकजना उद्योगीका नेता तथा अर्का एकजना युवा नेता छन् । त्यस्तै, कांग्रेस महानगर उपसभापतिका लागि पनि ६ जनाले नै उम्मेदवारी दर्ता गरेका छन् भने सचिवमा ३ र सहसचिवमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

पोखरा महानगर समितिको सभापतिका लागि मोहनप्रसाद बाँस्तोला, रामराज लामिछाने, गंगाधर पराजुली, ज्योति हमाल, सुरेन्द्रमान बिजुक्छे र मीलनप्राद तिवारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका संयोजक रामचन्द्र पौडेल (आरसी)ले जानकारी दिए ।

सभापतिका उम्मेदवारहरु मध्ये बाँस्तोला पोखरा महानगरपालिका–११ का वडाध्यक्ष हुन् भने सोहि वडाका एकाई सभापति पनि हुन् । अर्का उम्मेदवार लामिछाने पोखरा महानगरपालिका–९ का वडाध्यक्ष हुन् । कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका लामिछाने पोखरा महानगरपालिकाका कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

महानगर सभापतिका उम्मेदवार पराजुली पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष पनि हुन् । पराजुली यसअघि जिल्ला सचिवमा पनि पराजित भइसकेका व्यक्ति हुन् । महानगर सभापतिका एक्ली महिला उम्मेदवार ज्योति हमाल पनि पत्रकार नै हुन् । उनी कांग्रेस निकटको प्रेस युनियनसँग सम्बद्ध छिन् ।

महानगर सभापतिका बलिया उम्मेद्वार मानिएका बिजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव हुन् । बिजुक्छे नेपाली कांग्रेस पोखरा महानगर समितिका वर्तमान उपसभापति पनि हुन् । त्यस्तै तिवारी लेखनाथ बासी हुन् । उनी साविक लेखनाथ समितिका सचिवमा पराजित उमेद्वार हुन् ।

महानगर उपसभापतिका लागि पनि ६ जनाले नै उम्मेदवारी दर्ता गरेका छन् । उपसभापतिका लागि कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर अधिकारी, शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन् ।

सचिवका लागि गणेशबहादुर थापा, टुवराज बाँस्तोला र सुरेन्द्रबाबु तिवारीले उमेद्वारी दिएका छन् । सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रवीन कायस्थ, लक्ष्मी बाँस्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले उम्मेदवारी दिएका छन् ।

महानगर समितिको चुनाव आगामी असोज ९ गते हुनेछ । यसअघि भदौ २८ गते हुने भनिएको निर्वाचनलाई कांग्रेस केन्द्रीय समितिले वडा अधिवेशन सम्पन्न नभइसकेको कारण देखाउँदै कार्यतालिका परिवर्तन गरेर असोज ९ गतेलाई सारेको हो ।

प्रकाशित: २६ भाद्र २०७८ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App