१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीको प्रत्याशी बन्ने घोषणा गरेका छन्। बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा बिहीबार सुन्दरीजलमा बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्दै शर्माले महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्।  

कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउन भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित शर्माले लगातार तीनवटा आमनिर्वाचन नजितेसम्म मुलुकको विकास गर्न नसकिने बिपी वाणीको स्मरण गरे।  

‘बिपीले देश समृद्ध बनाउने हो भने लगातार तीनपटक कांग्रेसले आमनिर्वाचन जित्नुपर्छ भन्नुभएको थियो,’ शर्माले भने, ‘आमनिर्वाचनमा कांग्रेसले एकपटक जित्ने अर्को पटक हार्ने भएको छ। सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’ नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघ हुँदै सक्रिय राजनीतिमा लागेका शर्मा २०७४ पुसदेखि पार्टी प्रवक्ताको जिम्मेवारीमा छन्। 

२०५९ सालमा पार्टी विभाजन हुँदा नेवि संघको अध्यक्ष रहेका शर्मा त्यति बेला मूल कांग्रेसको पक्षमा उभिएका थिए। तर पार्टीको १३औं महाधिवेशनदेखि उनी सभापति शेरबहादुर देउवासँग नजिक छन्। देउवाले आगामी महाधिवेशनमा पनि सभापतिको प्रत्याशी बन्ने बताइरहेका छन्। शर्मा देउवाकै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने हुन वा छुट्टै, निश्चित छैन। यसअघि महामन्त्रीमा केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेलले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। कांग्रेस विधानमा दुई महामन्त्रीको व्यवस्था छ। दुवै महामन्त्री निर्वाचित हुने व्यवस्था छ।  

अधिवेशन रोक्न माग  

कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेताले वडा अधिवेशन नसकिएको भन्दै स्थानीय तहको अधिवेशन केही समय रोक्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। सभापति देउवाकै गृहजिल्ला डडेलधुरासहित विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद अझै टुंगो लाग्न बाँकी रहेको जनाउँदै उनीहरूले भदौ २७ गतेका लागि तय भएको ७५३ स्थानीय तहको अधिवेशन रोकेर एकैपटक गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। पार्टी सभापति देउवालाई बिहीबार भेटेर पौडेलले बाँकी जिल्लाको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगबाट गर्न पनि आग्रह गरेका छन्। 

प्रकाशित: २५ भाद्र २०७८ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App