coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर, झाँक्रीको जिल्ला गुल्मीमा निल

लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी)  रोज्ने जनप्रतिनिधिको संख्या न्यून देखिएको छ। राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो। लुम्बिनी प्रदेशसभाका एक जना सांसद सहित स्थानीय तहका ७१ जनप्रतिनिधिले मात्रै एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

लुम्बिनी प्रदेश सभामा यसअघि एमालेका ३७ सांसद हुन्। ती मध्ये पाल्पाकी सांसद रमा घर्तीले मात्रै नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन्। नेपालले नयाँ पार्टी खोल्नुअघि नेपालको पक्षमा खुलेका कपिलवस्तुका सांसद बिष्णु पन्थी एमालेमै बसे।  

स्थानीय तहतर्फ पनि तुलनात्मक रुपमा निकै कमले मात्रै नयाँ दल रोजेका छन्। एमाले टुक्रिनुअघि नेपाललाई साथ दिएका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, ठाकुर गैरे लगायतका नेताहरु एमालेमै बसेपछि नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या कम भएको हो।  

स्थानीय तहतर्फ सबैभन्दा धेरै दाङमा २१ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। समाजवादीका नेता मेटमणि चौधरी र भागवत विश्वासीको क्षेत्रका जनप्रतिनिधिहरुले नयाँ दल रोजेर उनीहरुलाई साथ दिएको बताइएको छ। तर एमालेमै रोकिनेको तुलनामा भने यो संख्या निकै कम हो।  

रुपन्देहीमा एकजना उपमेयरसहित ७ जनाले मात्रै नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन्। एमाले नेता बिष्णु पौडेल र पछिल्लो समय नेपालको साथ छोडेर ओलीसँग रोकिएका घनश्याम भुसाल केही दिन यता जिल्लामै बसेर जनप्रतिनिधिहरुलाई नयाँ दल रोज्नबाट रोक्न सफल भएका छन्। विशेषगरी पहिरो निरीक्षणको बहानामा बुटवल आएका भनिएका पौडेलले विभिन्न प्रलोभनमा पारी जनप्रतिनिधिहरुलाई बाटोमै रोक्न सफल भएको एमालेकै स्थानीय नेताहरु बताउँछन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले एक जना उपमेयरसहित ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जानकारी दिए। सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेसहित देवदह नगरपालिकाको वडा नम्बर ७ का सदस्यहरु सरस्वती पोखरेल, सीतादेवी विक, बुटवल उपमहागरका वडा सदस्यहरु गोपाल नेपाल, सुनील शाक्य, चिनबहादुर गुरुङ, तिलोत्तमा कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले नयाँ दल रोजेका हुन्। १६ स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ८ वटामा उपप्रमुखमा एमालेले जितेको थियो।

अर्घाखाँचीमा एकजना गाँउपालिका उपाध्यक्षसहित ६ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। जिल्लाको पाणिनी गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित वडा सदस्यहरुले  समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ। पाल्पा, कपिलबस्तु र नवलपरासीमा एक/एक जनाले मात्रै नेकपा एकीकृत समाजवादी दल रोजेको ती जिल्लाको निर्वाचन कार्यालयले जनाएका छन्।  

बाँकेमा एकजना वडाध्यक्षसहित ११ जनाले नयाँ दल रोजेका छन्। एक जना वडा अध्यक्ष, ३ जना कार्यपालिका सदस्य र ७ जना वडा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ। प्युठानमा ७ जना जनप्रतिनिधिले एमाले परित्याग गरी माधव नेपालको पार्टी रोजेका छन्।

पुर्वी रुकुम र रोल्पामा  ५÷५ जना र बर्दियामा ६ जनप्रतिनिधिले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।  

गुल्मी  निल

रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा नेकपा एकीकृत समाजवादी पार्टी निल देखिएको छ। एमाले फुटको राजनीतिसँगै राष्ट्रिय स्तरमा झाँक्रीको चर्चा चुलिए पनि स्थानीय स्तरमा उनको पकड कमजोर देखिएको विश्लेषण हुन थालेको छ।

माधव नेपालको पक्षमा सुरुदेखि देखिएका गुल्मीका नेता गोकर्ण बिष्ट पार्टी फुट्दा ओलीसँगै रोकिएपछि नेपाल पक्ष भनिएका जनप्रतिनिधिहरु पनि उनीसँगै रोकिएका हुन्। किनकी पार्टी फुट्नु अघि जिल्लाका अधिकाँश एमाले जनप्रतिनिधिहरु नेपालको पक्षमा खुलेका थिए। तिनै जनप्रतिनिधिको नेतृत्वमा ओलीबिरुद्ध एमालेको समानान्तर कमिटी पनि गठन गरीएको थियो। तर अहिले ती जनप्रतिनिधि कसैले पनि नयाँ पार्टी रोजेनन्।

गुल्मीमा १२ वटा पालिका मध्ये ७ वटामा पालिका प्रमुख एमालेका छन्। १० जना उपप्रमुख छन्। एमालेका ३ सय ३० जना  जनप्रतिनिधि रहेको जिल्लाबाट समाजवादीमा एक जनाले पनि सनाखत नगरेको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन्।

प्रकाशित: २३ भाद्र २०७८ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App