१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम र प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठूलो दल

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीमा ५४ जना प्रदेश सभासद समाहित भएका छन्। प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले विभाजित दल रोज्न पाउने एक दिन बाँकी रहँदा नेकपा एमालेबाट निर्वाचित ५४ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीमा समाहित भएका हुन्। सात प्रदेशमा एमालेबाट निर्वाचित दुई सय ३३ प्रदेशसभा सदस्यमध्ये पूर्वप्रधानमन्त्री माधव नेपाललाई ५४ जनाले साथ दिएका छन्। सुदूरपश्चिम र प्रदेश २ मा नेकपा समाजवादी एमालेभन्दा ठूलो दल भएको छ।  

संघीय संसदमा ३० जनाले एकीकृत समाजवादी पार्टी रोजेका थिए। तर प्रदेशसभामा भने ५४ जना पुगेका हुन्। माधव नेपालले सुदूरपश्चिम, प्रदेश २, बागमतीमा धेरै सांसद लगेका छन्। सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश २ मा पनि ठूलो दल बनेको छ। गण्डकी प्रदेशमा माधव नेपालसँग एकजना पनि प्रदेश सांसद गएनन् भने लुम्बिनीमा भने एकजनाले साथ दिएका छन्। एमालेबाट विभाजित नेकपा (एस) प्रदेश २ र सुदूरपश्चिममा एमालेबाट ठूलो दल बनेको छ। बागमती र प्रदेश १ मा एमालेको सरकार ढाल्न प्रयाप्त संख्या बनाएको छ।  

एमालेमा १० बुँदे कार्यन्वयन गर्न आनाकानी गरेपछि सुदुरपश्चिम प्रदेशका धेरैजसो जनप्रतिनीधिहरूले एमाले छाडेका हुन्। माधव नेपाल छाडेर एमालेमै बसेका मध्यमार्गी धारका नेताका कारण एमाले प्रदेश १ र वागमतीमा ठूलो क्षतिबाट जोगिएको भएपनि सुदूरपश्चिममा भने त्यो क्षति कम भएन।  

प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए। पार्टी विभाजनपछि नेकपा एसमा १० जना गएका छन्। भीम आचार्य र योगेश भट्टराई एमालेमै रहेका कारण ९ जना प्रदेशसभा सदस्य विभाजनको विपक्षमा उभिएका थिए। प्रदेश २ मा प्रदेशसभातर्फ एमालेलाई ठूलो क्षति भएको छ। माधव नेपालले नेतृत्व गरेको सो पार्टीमा १३ जना सांसद गएपछि एमालेमा ८ जनामात्र रहेका छन्।  

बागमती प्रदेशमा पार्टी विभाजनको असर देखिएको छ। अष्टलक्ष्मी शाक्यको सरकारलाई अल्पमतमा पारिसकेको भएपनि मूख्यमन्त्रीमा कांग्रेसले दावी गरेका कारण नेकपा एस पार्टी दोधारमा रहेको छ। ५६ जनामध्ये १३ जना प्रदेशसभा सदस्यले नेकपा एसलाई साथ दिएका छन्। काभ्रेका दुवै क्षेत्रका सांसदले गोकुल बाँस्कोटाको साथ छाडेका छन् भने नेपाल पक्षको गढ रहेको सिन्धुपाल्चोकमा नेपाललाई घाटा लागेको छ। अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अरूण नेपाललगायतका नेता एमालेमै रहँदा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, काठमाडौं, ललितपुर, सिन्धुलीलगायतका जिल्लाका नेताहरू पार्टी विभाजनको विपक्षमा रहेका छन्।  

गण्डकी प्रदेशसभामा २७ जना सांसद रहेको एमालेमै रहेका छन्। नेकपा एमालेका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य रहेको लुम्बिनीमा घनश्याम भुसाल, गोकर्ण विष्ट, युवराज ज्ञवालीलगायतका नेता एमालेमै बसेपछि धेरै जनप्रतिनिधि र नेता कार्यकर्ताले एमालेमै रहने भएका छन्। कर्णालीमा प्रकाश ज्वालालगायत चारजनाले यसअघि नै फ्लोर क्रस गरेर सांसद पद गुमाइसकेका छन्। थप तीनजनाले विभाजनको पक्षमा उभिएका कारण एमालेको सांसद संख्या १३ मात्रै रहेको छ। एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनाले नेकपा (एस) रोजेका छन्। संघीय संसदका ७ जना लिएर ओली छाडेका आलेले प्रदेशसभामा पनि नेकपा एसलाई एमालेभन्दा ठूलो बनाउन कम्तीमा ४ सांसद थपेका छन्।

प्रकाशित: २२ भाद्र २०७८ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App