७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस अधिवेशन : जुम्लाका अधिकांस वडा युवाको काँधमा

नेपाली काँग्रेस जुम्लाले जिल्लाका कुल ६० वटा वडामध्ये अधिकांस वडाको नेतृत्व युवालाई सुम्पेको छ। पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको हो।

अहिले सम्म पाकापुस्ताले काँग्रेस चलाएका थिए। अब युवाको काँधमा नयाँ जिम्मेवारी बोधका साथ काँग्रेस अगाडी बढ्दैछ भन्ने सन्देश दिन युवा नेतृत्वलाई अधिकांस वडाको जिम्मेवारी सुम्पेको नेपाली काँग्रेस जुम्लाका सचिव कार्मा बुढाले जानकारी दए।

सचिव बुढाले भने,‘हाम्रो पार्टीमा युवाको राम्रो स्टाटस छ। नेपाली काँग्रेस युवाहरुले संगठन चुस्त दुरुस्त र समयानुकुल अघि बढाउन सक्छन भन्ने मान्यता राख्छ। नयाँ परिस्थिती अनुसार वडा हाँक्न सक्छन् भन्ने युवाप्रतिको विश्वास पनि छ। विज्ञान र प्रविधिसंग पनि सहजै जोडिने भएकोले अधिकांस वडा युवाको नेतृत्वमा चल्ने गरि नेतृत्व चयन गरिएको हो।’

उनले युवालाई नेतृत्व सुम्पने बहानामा पाका पुस्तालाई अपहेलना नहुने बताए। अहिले सम्म पार्टी संगठन बचाउने पाकापुस्ताको पनि उचित समयमा उचित खालको संबोधन हुने बताए। संघीयता अनुसारको संरचना निर्माण हुने भएकोले सबैको सम्मानजनक सहभागिता हुने उनी बताउँछन्।  

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका ४ नम्वर वडाध्यक्ष मा ३३ वर्षीय दीपेन्द्रविक्रम हमाल वडा सभापतिमा चुनिएका छन्। सानै उमेरमा नेविसंघको राजनीतिमा क्रियाशिल उनी वडालाई नयाँ प्रकारले अघि बढाएर काँग्रेसमय बनाउने कार्यमा जुट्ने भएका छन्।  

दीपेन्द्र नेपाली काग्रेसको जुम्ला काठमाडौँ सम्पर्क समितिको उपसभापति समेत हुन्। चन्दननाथ नगरपालिका १० नम्बर वडामा युवा नेता र्दुलभ खत्री पनि वडाको जिम्मेवारी लिएर आएका छन्। उनी नयाँ जोश, जाँगर र उमंगका साथ अघि बढेको बताउँछन्। कनकासुन्दरी गाउँपालका–८ मा मात्रिका उपाध्याय वडासभापतिमा चुनिएका हुन्। उनले अधिकांस वडा युवाको हातमा थम्याइदिएकोमा पाकापुस्ता नेता कार्यकर्ताले ठूलो अवसर प्रदान गरिदिएको बताए। 

उनले भने,‘सबैको साथ सहयोगले वडाको नेतृत्व लिन सफल भएको छु। सबैको साथ र सहयोगले नै वडा चलाउँछु।’

यस्तै तिला गाउँपालिका–२ को वडा सभापतिमा पनि युवा नेतृत्व नै चयन भएकी छन्। पहिलोपटक नेपाली काँग्रेसले महिला वडा सभापति चयन गरेको हो। उनी जुम्लाको ६० वडामा एक मात्र महिला सभापति हुन्।    

नेपाली काँग्रेस जुम्लाको संगठन विभाग प्रमुख लक्ष्मण शाही नेतृत्वले युवापुस्तालाई जिम्मेवारी दिने र युवाहरुले पार्टीमा आफ्नो भूमिका खोज्ने र दबाबमुलक कार्यक्रम सिर्जना गरेर बलियो उपस्थिती देखाउने सन्दर्भमा प्राप्त परिणाम स्वरुप धेरै जसो वडामा युवाको बाहुल्यता देखिएको बताए। संगठन विभाग प्रमुख शाहीले भने,‘यो युवा नेतृत्वका लागि अत्यन्तै खुसीको कुरा हो। नेपाली काँग्रेस नयाँ तरिकाले अघि बढनेछ। त्यही ढंगले युवा नेतृत्व प्रति आश गरेका छौँ। हिजोको नेतृत्वलाई सम्मान गर्छौँ। उनीहरुको सल्लाह सुझाव लिन्छौं। पार्टीको क्षेत्र,प्रदेश र केन्द्र स्तरमा सहभागी गराउनको लागि पहल गर्छौँ।’

उनले वडामा अधिकांस युवा नेतृत्व आइसकेकोले पालिका र क्षेत्र स्तरमा पनि युवालाई जिम्मेवारी दिन कन्ज्युस्याइँ गर्न नहुनेमा जोड दिए। ‘वडा, पालिका, जिल्ला र प्रदेश क्षेत्र स्तरमा युवाको महत्वपूर्ण सहभागिता आवश्यकता छ। आवश्यकता अनुसार युवाले नेतृत्व पाउने अपेक्षा पनि गरिएको छ’, उनले भने।  

निरन्तर रुपमा हरेक प्रकारले ६० वडा, ८ वटा पालिका र दुईटा प्रदेश क्षेत्रमा सहमति सहकार्य र एकताको अधिवेशन हुनुपर्छ। युवाको सम्मानजनक उपस्थिती हरेक समितिमा हुनुपर्छ। अनित्रमा बलियो पार्टी बनाउन सकिन्छ भन्ने विषयमा आवाज उठाइरहन्थे,‘ उनले भने,‘वडा अधिवेशमा आशा गरे अनुसारका नेतृत्व आएको छ। अब आउने निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चत गर्न एकताको आवश्यकताको हो। जिल्ला सभापतिमा धेरै आकांक्षी भन्दा पनि आपसी सहमतिको आधारमा नेतृत्व छनौट गर्ने बातावरण बनाउनुपर्छ।’

पाकापुस्ता नेतृत्वले पनि युवालाई नेतृत्व सुम्पन तयार भएका हुन्।

प्रकाशित: २० भाद्र २०७८ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App