७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा डेंगी बढेको बढ्यै

काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि डेंगी संक्रमण बढ्ने क्रम जारी रहेको अस्पतालहरूले जनाएका छन्।

पहिला उपत्यका बाहिरका डेंगी संक्रमित बढी आउने गरेकोमा पछिल्लो साता उपत्यकाभित्रकै बिरामी उपचारका लागि आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

अस्पतालको अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो साता कडा लक्षणसहितका डेंगीका बिरामी उपचारका लागि अस्पताल आइरहेका छन्। उक्त अस्पतालमा ११ जना डेंगीका बिरामी भर्ना भएमा छन्।

वीर अस्पताल मेडिसिन विभागका अनुसार अहिले त्यहाँ २० जना डेंगी संक्रमितको उपचार भइरहेको छ। वीरको बहिरंग विभागमा दैनिक ६०/७० जना डेंगीको लक्षण भएका बिरामी आउने गरेका छन्। दुई सातादेखि बढ्दै गएको संक्रमण पछिल्लो साता तीव्र बनेको जानकारी अस्पतालको मेडिकल विभाग प्रमुख डा. ध्रुव गैरले दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जनरल वार्डकी इन्चार्ज कमलाकुमारी पौडेलले पनि एक सातादेखि डेंगीका बिरामी बढेको जानकारी दिइन्। त्यस्तै सिभिल अस्पतालका मेडिकल इन्चार्ज डा. विदेश विष्टका अनुसार पनि संक्रमण बढ्दो क्रममा छ।

सरुवा रोग अस्पतालका अनुसार काठमाडौंका कालीमाटी, कुलेश्वरलगायत क्षेत्रबाट डेंगीको सिकायत लिएर आउने धेरै छन्। ठाउँ विशेषभन्दा पनि सबैतिर डेंगी संक्रमित पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाखा प्रमुख डा. यदुचन्द्र घिमिरले बताए।

पछिल्लो तथ्यांकअनुसार विभिन्न १० जिल्लामा डेंगी संक्रमित बढी पाइएका छन्। काठमाडौं, तनहुँ, कास्की, चितवन, पर्वतमा पाँच सयभन्दा बढी डेंगी संक्रमित छन्।

देशभरिमा ११ हजार ५ सय ४५ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको उक्त महाशाखाले जनाएको छ। महाशाखाको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार थप एक महिना संक्रमणको जोखिम छ।

यो वर्ष स्थानीय तहको सक्रियता, नागरिक स्वयंको सतर्कताका कारण गत वर्षजस्तो डेंगीले महामारीको रूप नलिएको उनले बताए। ‘लगातार तीन वर्षको अनुभवले नागरिकले डेंगी संक्रमणबाट जोगिन सिकेको देखिन्छ, डेंगी रोकथाममा स्थानीय सरकारको भूमिका पनि सक्रिय देखिन्छ’, उनले भने।

उनका अनुसार डेंगी सार्ने लामखुट्टेको बासस्स्थान खोज्ने र नष्ट गर्ने अभियानलाई निरन्तरता दिएमा यसबाट जोगिन सकिन्छ। ‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट जोगिनु हो, यसका लागि लामखुट्टे बढ्न दिनु हुँदैन’, उनले भने।

प्रकाशित: ७ आश्विन २०८१ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App