७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा महिला लिग: बागमतीको सुपर लिग सम्भावना जीवितै

बागमती युवा क्लबकी स्ट्राइकर गिफ्टी एचिमपोङलाई रोक्ने प्रयासमा कर्णाली प्रदेशका खेलाडी। तस्बिर सौजन्य: एन्फा

अन्तिम समयको गोलबाट बागमती युवा क्लबले जारी एन्फा महिला फुटबल लिगमा आइतबार दोस्रो जित निकाल्दै शीर्ष पाँचको सम्भावना जीवन्त राखेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कर्णाली प्रदेशमाथि १–० को कठिन जित निकाल्दै बागमतीले लिगमा शीर्ष पाँचको सम्भावना जीवन्त राखेको हो। एन्फा महिला लिगमा शीर्ष पाँच टोलीले सुपर लिगमा स्थान बनाउनेछन्।

लिगमा राम्रो सुरुआतका बाबजुद पछिल्ला खेलमा एकपछि अर्को हार बेहोरेको बागमतीको सुपर लिग यात्रा कठिन बनिरहेको थियो। तर, इन्जुरी समयमा घानाकी स्ट्राइकर गिफ्टी एचिमपोङको गोलबाट बागमतीले महत्त्वपूर्ण जित निकाल्यो। बराबरीतर्फ उन्मुख खेलमा बागमतीले इन्जुरी समयमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो।

यो जितपछि सात खेलबाट सात अंक जोड्दै बागमती सातौं स्थानमा उक्लिएको छ। पाँचौं स्थानको कोसीभन्दा बागमती तीन अंकले मात्र पछि छ। कोसीको सात खेलबाट सात अंक छ भने छैटौं स्थानको संकटाले पनि समान खेलबाट आठ अंक बटुलेको छ।

समान खेलबाट सात नै अंक जोडेको चन्द्रपुरको पनि सात अंक नै छ। यता कर्णाली प्रदेशको भने यो हारपछि सुपर लिगमा पुग्ने सम्भावना समाप्त भएको छ। आइतबार दोस्रो जित निकाल्ने लक्ष्यसहित बागमती र कर्णाली मैदान उत्रिएका थिए। दुवै तर्फबाट लगातार आक्रमण पनि बनेको थियो।

तर, खेलको नतिजा बराबरीतर्फ उन्मुख थियो। अन्तिम समयमा बागमतीले गोल गर्दै कर्णालीलाई झड्का दियो। छनोट प्रतियोगिताबाट लिग खेलेको कर्णालीले अब दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबसँग खेल्दै छ।

यो खेलमा शतप्रतिशत नतिजा पनि कर्णालीको दोस्रो चरणको यात्राका लागि पर्याप्त हुने छैन। लगातार चार हारको शृंखला अन्त्य गर्दै कर्णालीले पछिल्लो खेलमा जित निकालेको थियो। बागमतीलाई चुनौती दिए पनि अन्तिम समयमा कर्णाली समालिन सकेन।

यो हारपछि कर्णाली सात खेलबाट चार अंकका साथ नवौं स्थानमा यथावत् छ। पहिलो हाफमा दुवै तर्फबाट प्रयास भए पनि गोल निस्किएन। दोस्रो हाफमा पनि दुवै तर्फबाट आक्रमण सिर्जना भए। तर, बागमतीले अन्तिम समयमा मात्र सदुपयोग गर्न सक्यो। त्यसअघि कर्णालीले ७३औं मिनेटमा अग्रता लिने अवसर गुमायो। यस क्रममा वर्षा ओलीले बागमतीकी गोलकिपर सुजता तामाङसँग वान भर्सेस वानमा गोल गर्न चुकेकी थिइन्। बागमतीले पनि ८३औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाल्यो।

इन्जुरी समयको सुरुआतमा अस्मिता खवास पनि कर्णालीकी गोलकिपर लिला जोशी वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपछि बागमती फेरि असफल भयो। तर, थप समयको पाँचौ मिनेटमा गिफ्टीले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन्।

सुनिता भुलनले कर्णालीका सबै डिफेन्डर पार गर्दै दिएको उत्कृष्ट ओभर हेड पास नियन्त्रणमा लिँदै गिफ्टीले कर्णालीकी गोलकिपर जोशीसँग वान भर्सेस वानमा गोल गरेकी हुन्।

यो गोल नै बागमतीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। सुनिता खेलको प्लेयर अफ दी म्याचसमेत घोषित भइन्। यो खेलसँगै जारी लिगमा सातौं चरणका खेल सम्पन्न भएको छ।  

प्रकाशित: ७ आश्विन २०८१ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App