७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

श्रीलंकामा दिसानायके नयाँ राष्ट्रपति

श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपति चुनिएका  छन्। ५५ वर्षीय दिसानायके नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनका प्रमुख हुन्।

निर्वाचनबाट विजयी घोषणा भएपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको नभई हजारौं जनताको भएको बताएका छन्।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो। पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत र उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रो चरणको मतगणनाबाट दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ गरेको हो।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो। पहिलो चरणमा कसैको बहुमत नपुगेपछि दोस्रो चरणको मतगणना गर्नुपरेको हो।

निर्वाचन आयोगले दोस्रो चरणको मतगणनामा दिसानायके र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारलाई प्रतिस्पर्धाबाट हटाएको थियो। प्रतिस्पर्धाबाट हटाइएका उम्मेदवारहरूको मतपत्रमा दोस्रो र तेस्रो प्राथमिकतामा रहेको मत गणना गरिएको थियो।

राष्ट्रपतिमा निर्वाचित दिसानायकेले आफूलाई मजदुरको नेता बताउँदै आएका छन्। चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कडा कदम चाल्ने र सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता गरेका थिए।

उनले आफ्नो विजय सिंहली, तमिल, मुस्लिमलगायत सबै श्रीलंकालीको भएको र यो नयाँ सुरुवातको आधार रहेको बताए। श्रीलंकाका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र गरिबी उन्मुलन गर्ने चुनौती छ।

प्रकाशित: ७ आश्विन २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App