२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत

अधिकाँश मेरिङ्देन गाउँपालिकाका

ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले आइतबार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा अधिकाँश मेरिङ्देन गाउँपालिकाका रहेका छन्। 

जिसस उपप्रमुख नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाका प्रवक्ता समेत रहेका कार्यपालिका सदस्य सूर्यमान बराइली, मेरिङ्देन गाउँपालिकाका कार्यपालिका सदस्य दोर्जी शेर्पा, मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोही वडाका दलित महिला सदस्य दिलमाया नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं २ का वडासदस्य  पूर्णबहादुर कामी र मेरिङ्देन गाउँपालिका वडा नं १ का वडासदस्य मानबहादुर लिम्बू रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

३ सय २१ जना जनप्रतिनिधि निर्वाचित हुने ९ स्थानीय तह रहेको ताप्लेजुङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा ५ प्रमुख/अध्यक्ष र ५ उपाध्यक्षसहित नेकपा एमालेले १ सय ७३ पदमा विजय हासिल गरेको थियो। स्थानीय तहका प्रमुख र उपप्रमुख/उपाध्यक्षको मताधिकारमार्फत चयन हुने जिल्ला समन्वय समितिमा एमालेले प्रमुख, उपप्रमुखसहित ९ पदमै एकलौटी विजय हासिल गरेको थियो। 

एमालेले २९ वडाका वडाध्यक्ष र १ सय ३४ सदस्यीय पदमा विजय हासिल गरेको थियो। नेपाली काँग्रेसले ४ अध्यक्ष, २ उपाध्यक्ष, २६ वडाध्यक्ष र ९५ जना सदस्य गरी कूल १ सय २७ जनप्रतिनिधि निर्वाचित गराएको थियो। 

यस्तै, माओवादी केन्द्रले २ उपप्रमुख/उपाध्यक्ष, ५ वडाध्यक्ष र ९ सदस्य समेत गरी १६ जना जनप्रतिनिधि निर्वाचित गराउँदा तत्कालीन नयाँ शक्ति पार्टीले १ वडाध्यक्ष र २ सदस्य गरी ३ र संघीय लिम्बूवान मञ्च नेपालले २ जना सदस्यलाइ जनप्रतिनिधिका रुपमा निर्वाचित गराउन सकेको थियो।

प्रकाशित: २० भाद्र २०७८ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App