१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विपक्षीलाई साथ लिएर अगाडि बढ्छुः मुख्यमन्त्री शाक्य

जिल्ला समन्वय समिति मकवानपुरद्वारा हेटौंडामा आयोजित वार्षीक जिल्ला समिक्षा कार्यक्रममा बोल्दै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य। तस्बिरः अशोकसुजन/नागरिक

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विपक्षी पार्टीहरुलाई साथमा लिएर अगाडि बढ्न पहल गर्ने बताएकी छिन्। प्रदेश राजधानी हेटौंडामा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा विपक्षी पार्टीहरुसँगको राम्रो सम्बन्धका कारण समझदारीको प्रयास गरिने बताईन्।

‘मलाई लाग्छ, प्रतिपक्ष त्यसरी चाँही आउँदैन होला,’ उनले भनिन्, ‘हाम्रो हिजोको सम्बन्ध हेर्ने हो भने राम्रै छ, समझदारीकासाथ अगाडी बढ्छौ।’ नेकपा एमालेका प्रदेश सदस्यहरुलाई एमाले वा नेकपा (एकीकृत समाजवादी) पार्टीमध्ये एक रोज्न अझै समय रहेको भन्दै उनले त्यसपछिको अवस्था अनुसार अगाडी बढ्न आफु तयार रहेको बताईन्।

‘२२ गतेसम्म त उहाँहरुको मुद्दा छ नि त, त्यसपछि कसरी आउँछ हामीले पनि हेर्नुपर्‍यो नि,’ उनले थपिन्, ‘पार्टी नै छुट्टिने समय सकेको छैन, त्यो सिद्धेपछि जसरी आउँछ, त्यही अनुसार अगाडी जान्छौ।’ नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्यले प्रदेशसभामा विश्वासको मत पाएमात्र प्रदेश मन्त्री परिषद् विस्तार गर्ने संकेत गरिन्।

‘यो सरकार अगाडि बढ्छ, मन्त्री परिषद् विस्तार हुन्छ,’ उनले भनिन्, ‘अविश्वासको प्रस्ताव आउँछ कि हेरौं, विश्वासको मत पनि लिन्छौं, त्यसको परिणाम के आउँछ त्यही अनुसार अगाडि बढ्छौं।’ प्रदेशसभामा बहुमतमा रहेको एमालेका ५६ मध्य १३ जना प्रदेश सदस्य एकीकृत समाजवादीमा गईसके नि भन्ने पत्रकारको सवालमा मुख्यमन्त्री शाक्यले त्यो सामान्य भएको बताईन्।

‘त्यो त पार्टी फुटेपछि हुने त्यही त हो नि,’ उनले थपिन्, ‘दल रोज्न पाउने हक त छदैछ, मलाई भन्नु केही छैन, अब त्यसरी रोज्दाखेरी केही साथीहरु जानु भएको छ।’ प्रदेश सरकार टिकाउन ५६ प्रदेश सदस्य आवश्यक रहेको भन्दै उनले आफुहरुलाई अफ्ठ्यारो भएपनि चिन्ता नलिएको जिकिर गरिन्।

‘हाम्लाई अली अफ्ठयारो चाँही छ, किनकी हामीलाई ५५ (प्रदेश सदस्य) चाहिन्छ, चिन्ता लिएर पनि हुँदैन, राजनीतिमा अस्थिरता आउँने बित्तिकै चिन्ता लिने,  स्थिर आउँने बित्तिकै मात्तेर अगाडी बढ्ने पक्षमा छैनौ,’ उनले भनिन्। सत्तामा रहुन्जेल ईमान्दार र नैतिकवान् भएर बस्ने भन्दै उनले सत्ता भन्दा जनताको सेवा महत्वपूर्ण रहेको तर्क गरिन्।

‘हामी सरकारमा जति दिन बस्छौ आफ्नो नैतिक धरातललाई विचलित बनाउँदैनौ,’ उनले अन्त्यमा भनिन्, ‘ईमान्दारिताका साथ जनताका लागि जे गर्न सक्छौ, त्यत्ति गरेर छोड्नुपर्छ भने पनि हामी तयार छौं, केही फरक पर्दैन।’ यसैबीच आईतबारै हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित वार्षीक जिल्ला समिक्षा कार्यक्रमको उद्घाटन गरेपछि संघीयताको विकासमा कुनै पनि केन्द्र सरकारले पर्याप्त काम नगरेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिएकी थिईन्।

शाक्य स्पष्ट अल्पमतमा

प्रदेशसभाको अवधि करिब डेढ वर्ष बाँकी रहँदा एमालेका १३ प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेसँगै एमाले सरकार अल्पमतमा परेको छ। एमालेका १३ प्रदेशसभा सदस्यले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको सरकार ढल्ने पक्का भएको छ।

यद्यपी निर्वाचन आयोगले नेकपाबाट निर्वाचित सांसद तथा जनप्रतिनिधिलाई एमाले र एकीकृत समाजवादीमध्ये एउटा दल रोज्न दिएको समयसीमा सकिन दुई दिन मात्र बाँकी छ। प्रदेशसभामा अझै सबैभन्दा ठूलो दल भएपनि एमालेसँग बहुमत नभएको स्पष्ट भईसकेकाले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनैपर्ने कानूनी बाध्यता आएको छ।

१ सय ९ सदस्य बागमती प्रदेशसभामा सरकार टिकाउन विश्वासको मतको पक्षमा ५५ प्रदेशसभा सदस्य आवश्यक पर्छ। अब एमालेमा सभामुखसहित ४३ प्रदेशसभा सदस्य मात्र बाँकी छ। तर एमाले र समाजवादीबीच प्रदेशसभा सदस्य तानातानको प्रयास जारी छ। एमालेले प्रदेशमा २२ मन्त्री मनाउँने भनेपनि प्रदेशसभा सदस्यले पार्टी छाड्ने क्रम रोकिएको छैन।

भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले अल्पमतमा परेपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। अंकगणितीय हिसाबमा एमालेलाई विश्वासको मत पाएर सरकार टिकाउन १२ प्रदेशसभा सदस्य आवश्यक पर्छ। तर माओवादी, कांग्रेस, एकीकृत समाजवादीबाहेक साना दलसँग ८ प्रदेशसभा सदस्यमात्र रहेकाले शाक्यको बर्हिगमनको विकल्प छैन।

केपी शर्मा ओली नेतृत्वको संघीय सरकार र एमालेको प्रदेश सरकार ढाल्न माओवादी, कांग्रेस, एकीकृत समाजवादी लगायतले केन्द्र(संघ)सँगै प्रदेशहरुमा पनि सहकार्य गरेकाले एमालेसहितको सरकार तत्काल सम्भाव देखिन्न। त्यससँगै समाजवादीमा प्रवेश गरेमात्र मुख्यमन्त्री पदमा शाक्य निरन्तर रहने समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउँदा शाक्यले पद भन्दा एमाले प्यारो भन्दै त्यसलाई अस्वीकार गरिसकेकी छिन्।

गठबन्धनलाई पर्याप्त बहुमत

१ सय ९ मध्ये बहुमतका लागि प्रदेशसभामा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनसँग पर्याप्त प्रदेशसभा सदस्य रहेका छन्। सरकार गठनका लागि प्रदेशसभामा बहुमतका लागि आवश्यक ५५ प्रदेशसभा सदस्य भन्दाबढी यी तीन दलसँग रहेका छन्।

जसमध्ये माओवादीको २३, कांग्रेसको २२, समाजवादीको १३ गरी ५८ प्रदेशसभा सदस्य अर्थात् बहुमतभन्दा ३ प्रदेशसभा सदस्य गठबन्धनसँग पुगेको छ। कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने पक्का नभएपनि तत्कालै प्रदेशसभा बैठक नडाके विशेष अधिवेशन माग गर्ने विपक्षी गठबन्धनले चेतावनी दिईसकेको छ।

यद्यपी नयाँ मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्कट्टेल, कांग्रेसका ईन्द्रबहादुर बानियाँ, समाजवादीका राजेन्द्र पाण्डेको नाम चर्चामा भएपनि गठबन्धनको भागबण्डा अनुसार समाजवादीका पाण्डेको सम्भावना बढी रहेको बताईन्छ। प्रदेशसभामा विवेकशील साझाको तीन, मजदुर किसान पार्टी र राप्रपाका दुई–दुई तथा एक स्वतन्त्र सांसदगरी ८ सांसद रहेका छन्। नयाँ सत्ता गठबन्धनमा साना दलहरुको पनि सम्भावना भएपनि स्पष्ट भईसकेको छैन।

प्रकाशित: २० भाद्र २०७८ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App