८ वैशाख २०८१ शनिबार
राजनीति

अमेरिकी सरकारले स्पष्ट पारेपछि एमसीसी अघि बढ्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन्। शनिबार काठमाडाँंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताएका हुन्। 

एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे। नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो। हामी विदेशबाट ऋण पनि लिन्छौँ। ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ। कामदार पनि आउँछन्। यो चाहीँ अनुदानमा आएको आयोजना हो। हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ। अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ। सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ’ उनले भने।

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताए। 

प्रकाशित: १९ भाद्र २०७८ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App