७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस अधिवेशन : जुम्लाको एक्लो वडा सभापतिमा सीता

जुम्लाको तिला गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले महिला वडा सभापति बनाएको छ। शुक्रबार सम्पन्न वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ वर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन्।

सीता अहिले जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडा सभापति बनेकी हुन्। सानै उमेरमा नेविसंघको राजनीतिमा लागेकी सीता पछिल्लो समयमा निस्क्रियजस्तै थिइन्। तर उनी दुई वर्षदेखि खुला राजनीतिमा आइन्। ‘मैले इन्टरसम्म पढेर खेती किसान गर्दै आएको छु। योपटक सबै नेता कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेको छु’, सीताले भनिन्,‘अब वडाको काँग्रेस पार्टीको भविष्य बनाउने जिम्मेवारी आइपुगेको छ। सफलतापूर्वक पूरा गर्ने अठोट गरेकी छु। म आफू पनि सच्चा राजनीति गर्नेछु, अन्य दिदीबहिनीलाई पनि राजनीतिमार्फत् आफ्ना बेदना प्रकट गर्न सक्ने बनाउँछु।’

उनको माइतीघर हिमा गाउँपालिका ५ हो। उनी अहिले तिला गाउँपालिका २ लर्मी गाउँमा बस्दै आएकी छिन्। नेविसंघको राजनीतिमा उनी वडास्तरीय समितिको कोषाध्यक्षसम्म पुगेकी थिइन्। उनले भनिन्, ‘नेता कार्यकर्ता साथीहरुले पत्याएर सभापतिको जिम्मेवारी दिएका छन्। म साथीहरुको सुझाव सल्लाहको आधारमा लोकप्रिय काम गर्नेछु। महिलालाई जागरुक बनाउनेछु। असल राजीतिक चरित्रका बारेमा जनतामा जागरण फैलाउनेछु। राजनीतिमा महिला सहभागिताको बारेमा आवाज उठाउनेछु।’

सीता वडाकी विश्वास पात्र हुन्। वडा सभापतिमा दुई जनाको दाबी थियो। एक जना सीता अर्का मानबहादुर बोहोरा। मानबहादुर बोहोरा वडाको तदर्थ समितिको सभापति हुन्। सीताले वडा सभापतिमा सहयोग गर्न भनेपनि मानबहादुरले सहजै छोडेका थिए। उनी निर्विरोध भइन्। अहिले जुम्लामा रहेका ६० वडामा एक्लो वडा सभापति हुन्। अहिले सीताको जिल्लाभर चर्चा भइरहेको छ।  

नेपाली काँग्रेस तिला २ ले सीताको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति र १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि गठन गरेको छ। नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कल्से रावतले महिला वडासभापति बनाएर उदाहरण प्रस्तुत गरेको बताए। उनले भने, ‘विकट बस्ती जुम्लामा राजनीति गर्ने महिला कमै भेटिन्छन्। सीता एक उदाहरण हुन्। उनको पार्टीप्रतिको लगनशीलता, त्याग, तपश्याका कारण वडा सभापति बन्न सकेकी हुन्। यसले नेपाली काँग्रेसको जुम्ली राजनीतिमा नयाँ तरंग आउने आशा छ।’

क्षेत्रीय प्रतिनिधि रावतले महिला वडासभापति पाएकोमा गर्व महसुस गरेको भन्दै निरन्तर साथ र सहयोग रहने बताए। उनले भने, ‘उनले जहाँसम्म राजनीतिक यात्राअघि बढाउँछन्। त्यहाँसम्म निरन्तर साथ र सहयोग रहिरहनेछ। सिर्जनात्मक कार्यमा हरदम साथमा रहनेछौ।’  

काँग्रेस जिल्ला सभापति दीपबहादुर शाहीले जिल्लाभर वडा अधिवेशन भव्य र सभ्य रुपमा सकिएको बताए। उनले भने, ‘यहाँका सबै वडामा अधिवेशन सकिएर नयाँ समिति चयन भइसकेको छ। यो राम्रो सन्देश हो।’

प्रकाशित: १९ भाद्र २०७८ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App