४ वैशाख २०८१ मंगलबार
राजनीति

काँग्रेस ताप्लेजुङमा वडाको अधिवेशन, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि छानिँदै

ताप्लेजुङमा रहेका ६१ वटा वडामध्ये नेपाली काँग्रेसले ६० वटा वडामा वडा अधिवेशनमार्फत् नेतृत्व र प्रतिनिधि छनौट गरेको छ। सिदिङ्वा गाउँपालिकाको वडा नं ३ आङ्खोपको अधिवेशन  भने केही प्राविधिक कारणले सम्पन्न भइ नसकेको तर प्रकृयामा भने रहेको नेपाली काँग्रेस ताप्लेजुङका निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए।

उनका अनुसार वडा अधिवेशन सम्पन्न भइसकेका ६० मध्ये फुङ्लिङ नगरपालिका वडा नं ७ बाहेक सबै वडामा निर्वीरोध नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। फुनपा वडा नं ७ मा भने नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको थियो। पाण्डेका अनुसार गाउँपालिका भित्रका प्रत्येक वडामा पदाधिकारीसहित २२ र नगरपालिकामा प्रत्येक वडामा पदाधिकारीसहित २७ सदस्यीय कार्य समिति बनेको छ। पालिकासहित जिल्ला अधिवेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने छन्।

सम्बन्धित पालिका भित्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिकाको कार्य समितिमा समेत नयाँ नेतृत्वका लागि मतदान गर्न पाउने छन् भने तिनै प्रतिनिधिलाई जिल्ला कार्य समितिमा समेतको नेतृत्वका लागि मताधिकार हुनेछ। ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका रहेका छन्। प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

पाण्डेले समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्था सहितको हिसाब गर्ने हो भने ताप्लेजुङका कुनै वडाबाट वडा सभापतिसहित १७ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन भएको जानकारी दिए। सरदर १६ जनाका हिसाबले गर्ने हो भने ताप्लेजुङका ६१ वटा वडाबाट ९ सय ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्थाका कारण क्षेत्रीय प्रतिनिधिको यो संख्यामा केहि घटबढ हुन सक्ने पाण्डेले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७८ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App