coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, अन्यमा अधिवेशन जारी

खोटाङका २० वडामा नेपाली कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन गरिएको छ। शुक्रबार जारी अधिवेशनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।  

सहमती जुटेको वडामा निर्विरोध वडा कार्य समिति चयन गरिएको र सहमती जुट्न नसकेको वडामा चुनावी प्रकृया अघि बढाइएको कांग्रेसले जनाएको छ। जिल्लाकै ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सदस्य पदका लागि चुनावी प्रकृया अघि बढेको छ। वडा सभापति, खुला महिला, जनजाती खुला, जनजाती महिला लगायतमा सहमती जुटे पनि खुला सदस्य, दलित खुला र खस आर्यन खुलामा चुनाव हुन लागेको कांग्रेस सचिव जोशीले बताए।  

यस्तै, ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी र सछितापोखरी बाहेकका वडामा चुनाव हुने देखिएको छ। गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रकृया अघि बढेको छ। याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन्। यस्तै, भूपेन्द्र राई र नइन्द्र राई लगायत क्षेत्रीय प्रतिनिधिमा उठेका छन्।  

यस्तै, ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकाको काहुले र चिसापानीमा वडा कार्य समितिको नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुँदै छ। केपिलासगढी गाउँपालिकाको सुन्देलमा चुनावबाट इच्छाबहादुर पौडेल वडा सभापतिमा विजयी भएको कांग्रेसका संगठन विभाग प्रमुख समिर राईले बताए। केपिलासगढीका अन्य वडामा सहमतीको प्रयास भइरहेको जनाइएको छ। कांग्रेसको वडा अधिवेशनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र १७ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ। कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ।  

प्रकाशित: १८ भाद्र २०७८ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App