१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महाधिवेशनले आमचुनाव नहराओस् : डा. कोइराला

क्याप्शन

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सकृय सदस्यतासम्बन्धी बिबाद अन्त्य भएसंगै पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै ‘पक्का’ भएको बताएका छन्। सकृय सदस्यतासम्बन्धी बिबादका कारण अधिवेशन माथि आशंका गरिएको भएपनि अब त्यो आशंकाको अन्त्य भएको बताए। 

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे तथा निवर्तमान दाङ जिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यवादेबी शर्मा घिमिरेको श्रद्धाञ्जली सभामा बोल्दै कोइरालाले १८ गतेदेखि सुरु हुने महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यहि भदौ १८ गतेदेखि सुरु भएर पार्टीको महाधिवेशन मंसिरमा समापन हुँदैछ,’ कोइरालाले भने, ‘सक्षम र सबल नेतृत्व चयनका लागि तपाईहरु लाग्नुस्।’  

कोइरालाले आगामी ‘आम निर्वाचन’ मा पार्टीलाई असर नपर्ने गरि अधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले आसन्न महाधिवेशनबाटै कांग्रेसमा ब्याप्त ‘गुट’ को अन्त्य हुनुपर्नेमा जोड दिए। महाधिवेशनमा ब्यक्तिगत टकरावका कारण आगामी आम निर्वाचनमा कांग्रेसलाई नकारात्मक असर पर्न जाने तर्फ सचेत बनाउँदै उनले भने, ‘हामीहरुले आम चुनावमा कांग्रेसलाई जिताउनु छ, यसर्थ अहिले महाधिवेशनमा तपाई हाम्रा बीचमा आउने तिक्तताले भोलि पार्टीले हार्न सक्छ, पार्टीको महाधिवेशनले आम चुनावमा पार्टीलाई नै हराउने वातावरण नबनोस्।’ पार्टी राजनीति ब्यक्ति केन्द्रित भएका कारण कांग्रेसमा गुट हाबी भएको भन्दै कोइरालाले ब्यक्ति केन्द्रित राजनीतिबाट कांग्रेसीहरु टाढै रहनुपर्ने बताए। 

‘कांग्रेसीहरुले राजनीति आफ्नो लागि हैन, देश र जनताका लागि गर्ने हो,’तर हामीहरु ब्यक्तिगत स्वार्थका लागि कांग्रेसको राजनीति गरिरहेका छौँ, यसले देश र जनताको पार्टीले घाटा ब्यहोर्नु परिरहेको छ।’

यसैगरि श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले शुक्रबार शिर्ष नेताहरुबीच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरेको बताए। उनका अनुसार पार्टी केन्द्रीय कार्यालयमा चलेको ‘धर्ना’ का अपेक्षाहरु शुक्रबारको छलफलले पूरा गरिदिएको बताए। ‘पार्टी कार्यालयमा सुरु भएको धर्नाले महाधिवेशन निर्धारित समयमै हुन्न कि भन्ने तपाईहरुलाई पनि आशंका थियो होला , तर शुक्रबार मात्रै शिर्षस्थ नेताहरु बसेर त्यो बिबादको बिषयलाई टुंग्याईएको छ,’ महतले भने, ‘अब निर्धारित मितिमा महाधिवेशन हुनेमा दुई मत देखिएन।’

उनले ४८ जिल्लाका सकृय सदस्यहरुको नामावली सार्वजनिक गरिएको र केहि बिबादित जिल्लाको सकृय सदस्यताको सूची पुनः सम्पादन गरेर आईतबारसम्म टुंगो लागि सक्ने बताए। ‘४८ जिल्लाको सकृय सदस्यताको सूची सार्वजनिक भैसकेको छ, बिबादित थप जिल्लाको सकृय सदस्यताको सूची पनि केही सम्पादन गर्नुपर्ने अवस्था देखिए सम्पादन गरेर आईतबारसम्म सार्वजनिक हुन्छ,’ महतले भने, ‘यसर्थ पार्टीको महाधिवेशन १८ भदौ देखिनै हुन्छ, यसमा कुनै शंका छैन।’ साथै उनले सकृय पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कसैले पनि बहुमतका लागि सकृय सदस्यतामा दायाँ बायाँ नगरेको समेत बताए। ‘कसैले पनि आफ्नो बहुमतका लागि सकृय सदस्यतामा तलमाथि गरेको छैन,’ उनले भने, ‘पार्टीको बिधान र निर्णय अनुसारनै काम भएका छन्।’

उनले पनि पार्टीको आसन्न महाधिवेशनले आम निर्वाचनलाई असर गर्ने तर्फ कार्यकर्ताहरुलाई सचेत गराए। उनले भने, ‘पार्टीको अधिवेशन तपाई हाम्रो अन्तिम लडाई हैन, हाम्रो अन्तिम लडाई भनेको तत्कालै आउन थालेको आम चुनाव हो, यसर्थ अहिलेनै सबै शक्ति प्रयोग नगरौँ।’ पार्टी महाधिवेशननै ‘सबथोक’ ठानेर शक्तिको लडाईँ लड्दा आम निर्वाचनमा कांग्रेस कमजोर हुने भन्दै उनले यसतर्फ सबै सचेत बन्नु पर्नेमा जोड दिए।

यसैगरि, केन्द्रीय सदस्य दीपक गिरीले मुलुकको लोकतन्त्रको बचाउका निम्ति कांग्रेस बलियो शक्तिका रुपमा उभिनुपर्नेमा जोड दिए। यसका लागि पार्टीभित्रको एकता अपरिहार्य रहेको गिरीले बताए। श्रद्धाञ्जली सभामासंगै रहेका महामन्त्री कोइराला र सहमहामन्त्री महतलाई ईगिंत गर्दै गिरीले भने, ‘कांग्रेस बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने बुझेका तपाई अग्रज नेताहरुले पार्टी भित्रको अन्तरबिरोध र गुटको अन्त्य गर्नका लागि उचित पहलकदमी लिनुहोस्।’

प्रकाशित: १२ भाद्र २०७८ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App