१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विभाजन होइन, शुद्धिकरण : उपेन्द्र यादव

दलदलमा भासिन लागेकालाई अध्यादेशले उद्धार गर्‍याे

जसपाको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादव । तस्बिरः मिथिलेश/नागरिक

जनता समाजवादी पार्टी (जसपा) को विभाजन नभई शुद्धिकरण भएको अध्यक्ष उपेन्द्र यादवले प्रष्ट्याएका छन्। पार्टी एक ढिक्का नै छ केही लोभीहरुलाई शुद्धिकरण गरिएको उनकाे तर्क छ।  

शुक्रबार जनकपुरधाममा आयोजित अभिमूखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले केही व्यक्ति पार्टीबाट अलग हुँदैमा विभाजन भनिहाल्न नमिल्ने तर्क गरे। उनले भने,‘ लोभी पापीहरुको झुण्ड अलग भएपछि जसपा शुद्धि भएको छ।’  

पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने उनको भनाई छ। '८० प्रतिशत नेता कार्यकर्ता मुल पार्टी जसपामै छन्,' उनले भने।  

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै यादवले टिप्पणी गरे,‘दलदलमा भासिन लागेकाहरुलाई सरकारले अध्यादेश ल्याएर उद्धार गरेको छ। प्रतिगमनविरुद्धको आन्दोलन छोडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बन्न पुगेकाहरु दलदलमा फसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको यादवले बताए।

महन्थ ठाकुर एन्ड कम्पनी लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट एउटै संसदलाई २ पटक भंग गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको अध्यक्ष यादवको टिप्पणी थियो।  

‘त्रुटिपूर्ण र गलत संविधान संशोधनकालागि सडक र सदनबाट संघर्ष भइरहेको छ,’ यादवले भने, ‘हाम्रो प्रयास संविधानको सकारात्मक पक्षको रक्षा गरी त्रुटिलाई संशोधन गर्नु हो।’ आरक्षण, शासकीय स्वरुप, निर्वाचन प्रणाली, जनसंख्याको अधारमा समानुपातिक समावेसी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको यादवले बताए।

अध्यक्ष यादवले संविधान संशोधन गरी संघीयता र समावेशिता सच्याउने लक्ष्यका साथ अघि बढेको पनि बताएका छन्। उनले भने, ‘देशका सबै जातिको समानुपातिक र समावेशी अधिकार प्रदान गर्ने लक्ष्य छ।’

यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै नेपालको भविष्य भएको बताए। ‘जनताको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न खोज्ने प्रतिगमनकारी शक्ति अझै विद्यमान रहेकोले सतर्क र सचेत रहनुपर्छ,’ उनले भने, ‘मुलुकमा अहिलेसम्म भएका हरेक आन्दोलनले परिवर्तन ल्याउँछ। तर, त्यो संस्थागत हुन सकिरहेको छैन। किनकी हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धि उल्ट्याउने प्रतिगमनकारी शक्ति रहिरहन्छ।’ अध्यक्ष यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा केपी ओलीको सहयोगी बन्न पुगेको टिप्पणी गरे।  

मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रममा जसपाका नेताहरु अशोक राई, महेन्द्रराय यदाव, मृगेन्द्र सिंह यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले पार्टीका कार्याकर्तालाई सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुलाई संगठन कसिलो, व्यवस्थित र सुदृढ बनाउन आग्रह गरेका थिए।

प्रकाशित: ११ भाद्र २०७८ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App