१६ चैत्र २०८० शुक्रबार
राजनीति

राजपत्र सुदूरपश्चिममा छापिन सुरु

सुदूरपश्चिम प्रदेशमा मुद्रण मेसिन नहुँँदा राजपत्र छपाउन संघीय मुद्रण विभागमा पठाउनु पर्थ्याे। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण मेसिन जडान गरेर मंगलबारदेखि सुदूरपश्चिम प्रदेशमै राजपत्र छाप्न सुरु गरेको छ। 

यस प्रदेशमै राजपत्र छाप्न सुरु भएसँगै कानुन र सरकारका निर्णय कार्यान्वयन पनि छिटो हुने आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्। ‘यसअघि राजपत्र छापउनका लागि संघिय मुद्रण विभागमा पठाउनु पर्थ्याे,’ उनले भनिन्, ‘संघीय मुद्रण विभाग काठमाडौमा राजपत्र छपाउँदा ऐन, कानुन कार्यान्वयनमा समेत ढिलाई हुँदै आएको थियो।’ 

प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने उनले बताइन्। काठमाडौको मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यबिधि, निर्णयहरु छपाई गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको उनले बताइन्। ‘मुद्रण विभागमा राजपत्र छाप्न हुने ढिलाईले सरकारका निर्णय र कानुन कार्यान्वयनमा प्रभाप पर्ने गरेको थियो, अब आफ्नै मुद्रण  मेसिनबाट राजपत्र छाप्न सुरु भएपछि सरकारका निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने छ’, उनले भनिन्। 

प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने छन्। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मंगलबार पूजापाठ गरि राजपत्र छाप्ने मुद्रण मेसिनको उद्घाटन गरेकी थिइन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम रहेको थियो। आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरेपनि जडान गर्न ढिलाई भएकाले सञ्चालन गर्न नसकिएको मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए। मेसिन २७ लाख ८० हजारमा खरिद गरि भित्र्याइएको उनले बताए।

प्रकाशित: ८ भाद्र २०७८ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App