२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपकुलपतिलाई राजीनामा दिन सुझाव

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई राजीनामा दिन पाँचवटा प्राध्यापक संघ–संगठनहरुले सुझाव दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई कुलपति नमान्ने अभिव्यक्ति दिएपछि उपकुलपति सिंह विवादमा तानिएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई संसदीय भाषामा मात्रै कुलपति मान्ने उपकुलपतिको अभिव्यक्ति क्षमा गर्न लायक छैन्,’ प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष रुपेश खत्रीले भने, ‘पाँचवटा प्रध्यापक संघ–संगठनकोतर्फबाट राजीनामा दिन सुझाव दिएका छौं, नदिएमा चरणवद्ध आन्दोलन गर्छाैं।’

उपकुलपति सिंहले नेकपा एमालेको केपी वली निकटका विद्यार्थीहरुलाई विश्वविद्यालयको विस्तारित कार्यालयमा भेला गरेर आफूले प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्ने भएपनि आफ्ना लागि पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली नै कुलपति भएको बताएका थिए।

सार्वजनिक भएको एक घण्टा ५३ सेकेण्डको अडियोमा उपकुलपति सिंहले आफ्ना लागि नेकपा एमाले, पार्टी अध्यक्ष केपी शर्मा ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको भन्दै आन्दोलित हुन आग्रह गरेका थिए।  

‘उपकुलपतिले विश्वविद्यालयलाई आफ्नो पार्टीको विचार लागू गर्ने थलोका रुपमा विकास गर्नुभयो,’ अध्यक्ष खत्रीले भने, ‘यो अभिव्यक्तिले विश्वविद्यालयको प्राज्ञिक मर्यादा तथा गरिमाको धज्जी उडाएको ठहर गर्दै राजीनामा दिन सुझाव दिएका हौं।’ उपकुलपति सिंहले सार्वजनिक भएको अडियो आफ्नो नभएको बताउँदै आएका छन्। प्राध्यापक संघ–संगठनहरुले अडियोका विषयमा छानविन गर्न यसअघि नै माग गरेका थिए। प्राध्यापक संघ–संगठनहरुले उपकुलपति सिंहले कार्य सम्पादनमा कुशलता नभएका, असक्षम र अविवेकीको आरोप पनि लगाएका छन्।

‘असक्षम, अविवेकी उपकुलपतिलाई नैतिकताका आधारमा अविलम्ब राजीनामा दिन आग्रह गरेपनि अटेर भइरहेको छ,’ नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले भने, ‘हाम्रो आग्रह र सुझावलाई अटेर गरेर राजीनामा नदिएकाले पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छौं।’

प्राध्यापक संघ–संगठनहरुले स्वेतपत्र जारी गर्नेदेखि उपकुलपतिको राजीनामाका लागि प्रदेश सरकारका मन्त्रीहरुको ध्यानाकर्षण गराउने, प्रदेशस्तरका विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग छलफल गर्ने, नागरिक समाजका अगुवा तथा चन्दादाताहरुसँग छलफल चलाउनेलगायतका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।

उपकुलपतिको राजीनामा माग गर्दै विश्वविद्यालयमा प्रध्यापक संघ–संगठनका साथै विद्यार्थीहरु पनि आन्दोलित भएका छन्। उपकुलपतिको राजीनामा माग्दै आन्दोलनरत विद्यार्थीहरुमाथि मंगलबार कुटपिट भएको थियो। प्राध्यापक संघ–संगठनहरुले उपकुलपति सिंहले प्रहरी–प्रशासन र अन्य गुण्डा समूहहरुको प्रयोग गरेर विद्यार्थीमाथि कुटपिट भएको आरोप लगाएका छन्।

प्रकाशित: २८ श्रावण २०७८ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App