दार्चुला घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणसँग सांसदहरुको सवाल–जवाफ भएकाे छ। सवाल–जवाफका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन्। गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानवीन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, 'छानवीन समितिले घटनास्थलमै गएर छानवीन गर्नेछ। प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानवीन गर्नेछ। स्थानीय नागरिकसँग पनि बुझेर छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ। प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ। र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ।'
सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो। गृहमन्त्री खाँणले सो छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पारे ।
गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानवीन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराए।
सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए। उनले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए। एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा वेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरे।
काँग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराए । उनले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताए।
यता, जवाफमा गृहमन्त्री खाँणले छानवीन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए। उनँले छानवीन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गरे। सरकारले सो घटनाको छानवीन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ।
प्रकाशित: १९ श्रावण २०७८ ११:०४ मंगलबार