१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : 'अभिभावक' नहुँदा मनपरि

राष्ट्रिय राजनीतिमै प्रभाव राखेका जिल्लाका दुई नेता खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ लामो समय एउटै समूहमा रहेपनि अन्ततः कांग्रेसभित्रको राजनीतिक ‘धार’ फरक बन्न पुग्यो। जिल्लामा आफ्नो एकल प्रभाव कायम गर्न खोजेका उनीहरु एक अर्काका बिपरित जस्तै बन्न पुगे। जिल्लामा खड्काको समूह अलगै थियो भने मजगैयाँको अलगै बन्यो। आ-आफ्नो समूह निर्माण गरेर कांग्रेसको राजनीतिमा सकृय उनीहरु समग्रमा सबै जिल्लाका कांग्रेसीहरुको अभिभावक जस्तै थिए। उनीहरु दुबैजनालाई जिल्लाका हरेक कांग्रेसीले अभिभावकीय भूमिकामा हेरेका थिए।  

उनै अभिभावक मध्यका एक खड्काको देहान्त भैसक्यो। उता मजगैयाँ पनि सकृय राजनीतिभन्दा टाढा भैसकेका छन्। खड्काको निधन र मजगैयाँको राजनीतिक निष्कृयताले दाङ कांग्रेसको राजनीतिमा लामो समयदेखिको अभिभावकत्व गुमिसकेको छ। न त त्यो अभिभावकत्व लिन सक्ने अन्य नेता जिल्लामा देखिएका छन्। अभिभावकविहीनताको अवस्थामा रहेको कांग्रेसभित्र अहिले ब्यक्तिवादी राजनीति हाबी हुँदै गएको छ। फलतः पार्टीको आसन्न १४ औँ महाधिवेशनको जिल्ला नेतृत्व चयनमा कांग्रेसलाई सकस पर्ने नेताहरु बताउँछन्।  

‘दाङ कांग्रेसलाई डोर्याउने अभिभावकहरु भएनन्, फलतः हामीहरुले कसैले कसैलाई नटेर्ने भएका छौँ,’ कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले भने, ‘अहिले हामीभित्र ब्यक्तिवादी चिन्तन हाबी भएको छ।’

कांग्रेसको केन्द्रीय स्तरबाटै पत्याईएका खड्काका हस्तक्षेपकारी भूमिकामै प्रस्तुत हुन्थे। उनको प्रस्तावमा असहमति देखिएपनि उनको निर्णयको खिलापमा कांग्रेसका कोहि नेताहरु जाने हिम्मत राख्न सक्दैनथे। फलतः उनको निर्णय सर्वेसर्वा नै हुने गर्‍थ्याे। ‘उहाँ पार्टीको केन्द्रीय नेतृत्वले नै पत्याउने नेता हुनुहुन्थ्यो,’ घिमिरे भन्छन्, ‘हस्तक्षेपकारी भूमिकामा अब्बल खुमबहादुरको निर्णयलाई जिल्लाका अस्वीकृत हुने वातावरण कहिल्यै बनेन।’  

खड्काको निधन भैसकेपनि उनका अर्का राजनीतिक समकक्षी बलदेव पनि सकृय राजनीतिबाट मौन छन्। बलदेव सकृय राजनीतिमा भैदिएको भएपनि जिल्लामा कांग्रेसको अभिभावकत्व गुम्ने थिएन। ‘बलदेव जि सकृय राजनीतिमा रहिरहेको भए दाङ कांग्रेसले अभिभावकविहीनताको अवस्था भोग्नु पर्ने थिएन,’ कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीले भने, ‘उहाँलाई जिल्लाका हरेक तहका नेताहरुले अभिभावक स्वीकार्न तयार छन्।’

जिल्लाको आसन्न १४ औँ महाधिवेशनलाई अभिभावकत्वविहीनताको अवस्थाले कांग्रेसलाई नेतृत्व चयनमा सकस पर्ने देखिन्छ। कारण जिल्लाका कांग्रेस नेताहरुका बीचमा सहमति गर्न सक्ने र बोल्ड निर्णय गरेर अरुलाई शान्त पार्न सक्ने भूमिका कसैमा छैन। फलतः ब्यक्ति विशेषको हाबी राजनीतिले नेतृत्व चयनमा भद्रगोल हुने कांग्रेसका एक पुराना नेताले बताए। ‘जिल्लाको कांग्रेस राजनीतिमा खोई अभिभावकत्व ? कसले भनेको कसले मान्ने ?’, ति नेताले भने, ‘अभिभावकत्व भएन भने ब्यक्तिवादी राजनीति हाबी हुँदै जान्छ, र यसले कसैले कसैलाई नटेर्ने परिस्थतीको निर्माण गर्छ।’ 

उनका अनुसार खुमबहादुरको देहान्त पश्चात पनि बलदेव सकृय राजनीतिमै भैदिएको भए जिल्लाको कांग्रेस राजनीति ट्रयाकमै कायम हुने बिश्लेषण जिल्ला नेताहरुले गरेका छन्। जिल्लामा हुने पार्टीगत निर्णय सबै खड्काकै हातमा हुन्थ्यो। ‘खुमबहादुरले राखेका प्रस्तावहरुमा कसैको असहमति भएतापनि उनले गरेको निर्णय हरेक कांग्रेसीले मान्नै पर्‍थ्याे, त्यो हो अभिभावकत्व भनेको,’ कांग्रेसका ति नेताले भने, ‘बलदेव जि अहिले सकृय राजनीतिमा भैदिएको भएपनि दाङ कांग्रेसको खुमहादुर खड्काको देहान्तपछि पनि अभिभाकत्वविहीनताको महसुस गर्नै पर्ने थिएन।’

अभिभावकविहीनताकै कारण जिल्लाका कांग्रेस नेताहरु आआफ्नै गुट निर्माण गरेर कसरी शक्तिशाली बन्ने होडमा देखिन्छन्। उनीहरुलाई लगाम लगाउन सक्ने अभिभावक दाङ कांग्रेसमा छैन। फलतः साउन १२ मा हुने भनिएको पार्टीको वडा अधिवेशनलाई लक्षित गर्दै जिल्लाकै नेताहरु ब्यक्ति बिशेषका गुट निर्माणमा सकृय भएका छन्। यसको गतिलो दृष्टान्त हो, जिल्लाका पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुले उपल्लो पदमै निर्वाचन लड्ने योजना बनाईरहेका छन्। ‘१२ गतेको अधिवेशनका लागि अधिकांशले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारका रुपमा आफूलाई हेरिरहेका छन्,’ कांग्रेस अर्का जिल्ला नेताले भने, ‘उनीहरुलाई रोक्ने नेतृत्व वा अभिभावक जिल्लामा भएन, फलत : उनीहरुले आफूले जे चाह्यो त्यो हुनुपर्छ भन्ने वातावरण दाङ कांग्रेसमा बनेको छ।’

प्रकाशित: ३० असार २०७८ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App