१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलाले संविधान जोगियो : एमाले उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन्। उनले यो फैसलाले नेपालको परिस्थती ‘सहि ट्र्याक’ मा आएको समेत बताए। 

‘केपी जिले संसद विघटन गरेर निकै असंवैधानिक काम गर्नुभएको थियो, यो आरोप हैन, सत्य हो,’ नागरिकसंग ज्ञवालीले भने, ‘सर्वोच्चले जुन फैसला गरेको छ, यो निकै स्वागत योग्य छ, किनभने यसले संविधानको रक्षा गरेको छ, यसर्थ जे हुनु पर्ने हो, त्यहि भएको छ।’  

दुई-दुई पटक संसद विघटन गरेर प्रधानमन्त्री ओलीले आफूलाई संविधान माथि राख्न खोजेर गलत गरेको भन्दै यो गल्तीलाई सानो भन्न नमिल्ने ज्ञवालीको भनाई छ। सर्वोच्चको फैसला ओलीसहित संविधान मास्न खोज्ने जो कोहिका लागि गतिलो शिक्षा बनेको उनको भनाई छ।

‘दुई-दुई पटक संसद विघटन गर्नु सामान्य त्रुटी थिएन, लोकतन्त्रमाथि ठूलो प्रहार गरियो’, उनले भने, ‘तर, सर्वोच्चले संविधान सम्मत निर्णय गरेको छ, अ‍ोली जिसहित संविधानभन्दा तलमाथि कोहि पनि जानु हुन्न भन्ने शिक्षा पनि सर्वोच्चले सबै राजनीतिकर्मीलाई दिएको छ।’

अब उप्रान्त संविधानकै उल्लंघन गरेर कोहि कसैले अलोकतान्त्रीक कदम चाल्न पाउँदैन भन्ने सन्देश जानु हरेक राजनीतिक दलका नेताहरुका लागि यो गतिलो शिक्षा भएको समेत उनको भनाई छ।  

प्रधानमन्त्री नियुक्तिमा सांसदहरुलाई ह्विप लगाउन नपाईने सर्वोच्चको फैसलालाई पनि उनले सही कदम भनेका छन्। सर्वोच्चले कांग्रेस सभापति शेरवहादुर देउवालाई दुई दिन भित्र प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेको छ। देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि एमाले माधबकुमार नेपाल समूह पक्षका सांसदहरुले हस्ताक्षर गरेका थिए। ‘देउवा जिलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नका लागि हाम्रो तर्फबाट बुझेरै हस्ताक्षर भएको हो,’ ज्ञवालीले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त भएमा सांसदलाई पार्टीको ह्विप लाग्दैन, हामीहरुले त्यो बेलानै यो बुझेका थियौँ र त्यहि अनुसार देउवाको पक्षमा हस्ताक्षर गरेका हौँ।’

उनले सर्वोच्चको यो फैसलाका कारण एमालेभित्र बन्न लागेको एकता खल्बलिन नहुने समेत बताए। अब एमालेको एकता के होला त? भन्ने प्रश्नमा उनले भने, ‘हामी एकताको पक्षधर नै हो, बन्न लागेको एकता खल्बलीनु हुन्न भन्ने मेरो मान्यता हो।’ तर देउवाको पक्षमा भएको हस्ताक्षरका आधारमा ओली प्रधानमन्त्रीबाट हट्नु पर्ने र सांसदलाई ह्विप समेत नलाग्ने अवस्थामा ओलीको कदम कस्तो हुने भन्ने विषयमा भने आफूले यसै भन्न नसक्ने उनको भनाई छ। तर आफूले सर्वोच्चको फैसलालाई एमाले एकताको अँझ बलियो अस्त्रका रुपमा लिएको उनको भनाई छ।

‘एमालेकै केही सांसदहरुको समेत हस्ताक्षरकै कारण प्रधानमन्त्री पद गुम्ने भएपछि अध्यक्ष ज्यूले अब के गर्नु हुन्छ? त्यो त हेर्न बाँकी नै छ,’ उनले भने, ‘तर मलाई त के लाग्छ भने संविधानका सही बाटोमा मुलुक फर्किएको छ, यो निर्णयको स्वागत गर्दै एमालेको थप मजबुतिका लागि एक हुन झनै प्रयत्नशिल बन्नु पर्ने परिस्थती पनि सर्वोच्चको फैसलाले निर्माण गरिदिएको छ।’ संविधानलाई प्रहार गर्ने नियत एमालेको नीति र सिद्धान्तले राख्नै नसक्ने भन्दै ज्ञवालीले एमालेलाई सिद्धान्ततः अघि बढ्न सर्वोच्चको अदालतले पाठ सिकाएको समेत बताए। 

फलतः यसलाई कुनै एक पक्षको जीत या हारको विषय भन्दा पनि लोकतन्त्रको रक्षाका निम्ती सबै एमालेजनको जीतका रुपमा ग्रहण गर्दै एकताकै बाटोमा अँझ गम्भिर भएर लाग्नु पर्ने उनको भनाई छ।

प्रकाशित: २८ असार २०७८ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App