१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः रकमान्तरको फेहरिस्त माग्दै एमालेद्वारा प्रदेशसभा बैठक अबरुद्ध

प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो। कांग्रेस नेतृत्वको सरकारले असार दोश्रो साता १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो।

असारमा रकमान्तर गरेर सरकारले कार्यकर्ता पोस्ने काम गरेको एमालेको आरोप छ। एमालेले रकमान्तर गर्नुको कारण सोधेको छ। बैठक सुरु भएलगत्तै एमालेका तर्फबाट पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामशरण बस्नेतले रकमान्तरको फेहरिस्त नपाएसम्म बैठक अगाडि बढ्न एमालेले नदिने बताए। उनले भने, ‘रकमान्तर गर्नुको कारण के हो ? के के योजना छनौट भए ? अनि योजना कसरी छनौट भए ? जवाफ चाहियो। चित्तबुझ्दो जवाफ नआएसम्म एमालेले सदन अगाडि बढ्न दिन्न।’

एमाले सांसदहरुले उठेर विरोध जनाइरहेपछि सभामुख नेत्रनाथ अधिकारीले केहीबेरका लागि बैठक स्थगित गरेका छन्। एमालेले रकमान्तर गरेर कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ। शनिबार आयोजित पत्रकार भेटघाटमा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले रकमान्तर गरेर सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका थिए।

असार १ गते बजेट ल्याएपछि आईतबार पहिलोपटक बैठक बोलाइएको थियो। बजेट माथि छलफल गरेर केहि दिनमै पास गर्ने उद्देश्यले बैठक बोलाइएको हो। शीर्षकगत रुपमा बजेट नल्याएको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले हालैमात्र रातो र गुलाबी किताव ल्याएको छ।

प्रकाशित: २७ असार २०७८ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App