१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

क्षेत्रीय सभापतिले किर्ते गरेको वडा सभापतिहरूको आरोप

नेपाली कांग्रेस बारा–२ का क्षेत्रीय सभापति रामप्रवेश यादवमाथि वडामा नयाँ सदस्यता थप्न र पुराना नवीकरण गर्न फाराम नदिएको आरोप लागेको छ । क्षेत्रीय उपसभापति लक्ष्मणप्रसाद जैसवाल र १३ जना वडा सभापतिहरूले उनीमाथि त्यस्तो आरोप लगाएका हुन्। 

उनीहरूले शुक्रबार बाराको कलैयामा पत्रकार सम्मेलन नै गरेर क्षेत्रीय सभापति रामप्रवेशले वडा सभापतिहरूलाई सदस्यता फाराम नदिको मात्र होइन, आफैं किर्ते गरी नयाँ सदस्यता थपेको र पुरानो सदस्यता नवीकरण गरेको आरोप लगाएका हुन्।

कांग्रेस विधानअनुसार केन्द्रबाट आएको सदस्यता फारामहरूलाई जिल्ला सभापतिबाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरूलाई जिम्मा लगाउनुपर्ने र वडा समितिबाट निर्णय भएर आएकाहरूको सदस्यता थप्ने वा नवीकरण गर्ने नियम भए पनि क्षेत्रीय सभापति रामप्रवेशले वडा सभापतिहरूलाई विधानले दिएको अधिकारसमेत प्रयोग गर्न नदिई कांग्रेस पार्टीलाई कमजोर बनाउनेहरूकै सदस्यता थपेको र पुरानो नवीकरण गरेको आरोप लगाइएको छ ।

क्षेत्र नं. २ का ४४ वडा सभापतिलाई क्षेत्रीय सभापतिले कांग्रेसको विधानअनुसार नयाँ र नवीकारण सदस्यता दिएर वडा समितिबाट निर्णय गराउनुको सट्टा वडा सभापतिहरूको नक्कली हस्ताक्षर गरेर नयाँ सदस्यता थपेको र पुराना सदस्यहरूको नवीकरण गरेको पचरौता नगरपालिका–१ का सभापति शिवनारायण सिंहले बताए। 

पचरौताको नगर प्रमुख पदमा कांग्रेसबाट प्रत्यासी बनेका किशोरीप्रसाद यादवले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले पार्टीबाट चुनाव लडेर आफूलाई हराउने लोकनाथ यादवलाई क्षत्रीय सभापतिले वडा ४ बाट नयाँ सदस्यता दिलाएको बताए।

लोकनाथलाई नयाँ सदस्यता फाराम भर्न वडा सभापति वीरबहादुर यादवले अनाकानी गरेपछि उनलाई कलैयाको यादव कोल्डस्टोरमा राखेर जबर्जस्ती हस्ताक्षर गराइएको किशोरीप्रसाद बताए। पत्रकार सम्मेलनमा महासमिति प्रतिनिधिसमेत रहेका राजेश रौनियारले क्षेत्रीय सभापति रामप्रवेशले केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ पार्टीका प्रत्यक्षी राधेचन्द यादवले वडा सभापतिहरूलाई नयाँ र पुराना सदस्यता फाराम नै नदिएर तानाशाही तरिकाले कांग्रेसको सदस्यता दिएको आरोप लगाए। वडा सभापतिहरूलाई सदस्यता फाराम नदिएर र वडा समितिबाट निर्णय नगराई नाम इन्ट्री गरिएको सदस्यता खारेज नगरिए कांग्रेस पार्टी नै पतन हुने रौनियारको भनाइ थियो। 

क्षेत्रीय सभापतिसँग केन्द्रबाट आएको सदस्यता फाराम माग्दा आजभोलि भन्दै नदिएको र पछि नेपाली कांग्रेसले सार्वजनिक गरेको नामावली हेर्दा वडा समितिबाट निर्णय नै नभएकाहरू पाइएपछि कसरी सदस्यता थपिएको र नवीकरण गरिएको बुझ्दा क्षेत्रीय सभापतिले नक्कली हस्ताक्षर गरेर सदस्यता नवीकरण गरेको र नयाँ थपिएको बुझ्न आएको आरोप क्षेत्रीय उपसभापति लक्ष्मणप्रसादले लगाए।

सुवर्ण गाउँपालिका–२ का वडाध्यक्षका कांग्रेस पार्टीबाट प्रत्यासी बनेका सतेन्द्रप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा जसपा पार्टीबाट चुनाव लडेका रूपनारायण यादवसहित उनका परिवारका ३५ जनाको नाम नयाँ सदस्यतामा थपिएको पत्रकार सम्मेलनमा बताए। वडा समितिबाट निर्णय नै नभएका र कांग्रेस उम्मेदवारलाई हराउने व्यक्तिहरूको सदस्यता थपिएपछि कांग्रेसमा लगानी गरेका कार्यकर्ताहरूको मनोबल गिराउने काम गरिएको उनले बताए।

संविधानसभा सदस्यसमेत रहेका कांग्रेसका नेता रामअयोध्या यादवको सदस्यता नवीकरण नगर्न क्षेत्रीय सभापति रामप्रवेशले आफूलाई भनेको र आफूले उनको सदस्यता नवीकरण गर्ने भनेपछि नयाँ र नवीकरण सदस्यता फाराम नै नदिएर वडाको सदस्यता फाराम आफैँले भरेको आरोप पचरौता–९ का वडा सभापति गोबरी राउतले लगाए।

क्षेत्रीय सभापतिले वडा सभापतिहरूलाई फाराम नै नदिएर आफूखुसी थपेको नयाँ सदस्यता र नवीकरण गरिएको सम्पूर्ण सदस्यता छानबिन गरी खारिज नगरिए आफूहरू जिल्ला पर्टी कार्यालय र केन्द्रीय पार्टी कार्यालयमा अनशनसमेत बस्ने पत्रकार सम्मेलनमा राजेश रौनियारले बताए। 

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यासी बनेका केन्द्रीय सदस्य राधेचन्द यादवको तानाशाही र परिवारवादकै कारण कांग्रेसका उम्मेदवारहरूमध्ये उनी सबैभन्दा बढी भोटले हार्नुपरेको र अहिले पनि तानाशाही र परिवारवाद नछाडे क्षेत्र नं. २ बाट कांग्रेस पार्टी नै समाप्त हुने किशोरीप्रसादको भनाइ थियो। क्षेत्रीय सभापतिले आफूखुसी सदस्यता इन्ट्री गरेको नयाँ र नवीकरण गरेका कतिपय व्यक्ति कांग्रेस पार्टीलाई संस्थागत रूपमा बलियो बनाउनुभन्दा राधेचन्दलाई भनेकै मान्ने रहेकाले उनीहरूको सदस्यता इन्ट्री गरिएको आरोप उनीहरूले लगाएका छन्।

प्रकाशित: २६ असार २०७८ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App