६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिगमन परास्त गर्न अझै सकिएको छैन: श्रेष्ठ

राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र त्यसलाई परास्त गर्न नसकेको अवस्था रहेको बताए।  

संविधानले एउटा बाटोमा लैजान उद्देश्य बोके पनि प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत महत्वकांक्षाका कारण मुलुकलाई ठीकविपरीत दिशातर्फ लगेको उनले बताए। प्रधानमन्त्री ओलीले संविधानको नांगो उल्लंघन गरेर देशलाई भ्रष्टाचारको दलदलमा पुर्‍याएको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीले मुलुकको हितको लागि भन्दा पनि आफ्नो व्यक्तिगत महत्वकांक्षा पूरा गर्न सत्ता लिप्साप्रति उद्धत हुनुभयो,’ उनले भने। त्यति मात्र होइन पार्टी र कम्युनिस्ट पनि सिध्याउने काम गरेको उनले बताए। कम्युनिस्ट सिद्धियोस् तर, म पद छोड्दिन भन्दै प्रधानमन्त्री कुर्सीमा टाँसिइरहेको उनले बताए।  

‘सत्ता लिप्साका कारण प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रविरुद्ध जाने काम गर्नुभयो भने व्यक्तिगत काममा विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो र विदेशी हस्तक्षेप गर्ने प्रक्रिया अघि बढ्यो जसबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गराउनुभयो। विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरेर राष्ट्रिय स्वाधीनतामा गम्भीर धोखाधडी गर्नुभयो’ उनले भने। ‘उहाँको राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो।’ उनले थपे, ‘अतिक्रमित भूभाग, इपिजीको प्रतिवेदन वार्ताको विषय नबन्ने तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेर विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ, यो क्षम्य छैन। प्रधानमन्त्री विकासको आधारमा नवउदारवाद, भ्रष्टीकरण, दलाल पूँजीवादको दिशातर्फ जानु भएको छ,’ उनले भने, ‘राष्ट्रियताको रक्षा गर्न संविधान र लोकतन्त्रलाई क्रियाशील बनाउनुपदर्छ भन्ने मेरो मान्यता हो।’

‘संविधानको ७६(५) कुन कारणले संविधानमा राखियो त्यो हेर्नुपर्ने हुन्छ, ७६ (२) नै ७६ (५) हो भनेर व्याख्या गर्नु संविधानलाई विकृत पार्नु हो’, उनले भने ‘७६ (२) हुँदो हो त धारा ७६(५) राखिने थिएन। राष्ट्रपतिलाई यो संविधानले अलंकारिक भूमिका दिएको छ त्यससैले राष्ट्रपतिले स्वविवेक प्रयोग गरेर प्रधानमन्त्री बनाउन पाउँदैनन्,’ उनले भने। यो संविधानको धारा राष्ट्रपतिले जसलाई प्रधानमन्त्री बनाउन मन लाग्छ त्यसलाई बनाउन राखेको हो भन्ने उनको प्रश्न थियो। उनले राष्ट्रपतिले संविधालाई ध्वस्त पार्छ भने असंवैधानिक कामलाई अदालतले सच्याउन सक्ने बताए। उनले संसद् विघटन गरेर निर्वाचनमा मुलुकलाई लैजान लागेको भन्दै निर्वाचन नै लोकतन्त्र हो भनेर व्याख्या गरिएको बताए। उनले भने, ‘संविधानसम्वत निर्वाचन भएमा मात्र लोकतन्त्र बलियो हुन्छ, त्यस्तो निर्वाचनको घोषणा त राजा ज्ञानेन्द्रले पनि गरेका थिए हामीले भाग लियौं लिएनांै नि,’ उनले भने। कालीगण्डकी डाइभर्सन गर्ने कुरा संघीयताविपरीत र संघीयताको स्प्रिटअनुसार नभएको बताए।  

कांग्रेस सांसद् रमेशजंग रायमाझीले पटकपटक संसद विघटन गर्ने प्रधानमन्त्रीले नैतिकता गुमाइसकेको बताए। उनले शक्तिमा रहेर अहंकारी बन्ने र भ्रष्टाचार बढाउँदै गएको कारण नै प्रधानमन्त्री ओली असफल हुँदै गएको बताए। ‘संसद्बाट चुचे नक्सामा एकजनाबाहेक सबै माननीयले हस्ताक्षर गरेर संविधान संशोधन भए पनि चुच्चे नक्सा कहाँ गयो, उहाँको राष्ट्रवाद कहाँ गयो ? तीन वर्ष सरकारको नेतृत्व गर्दा नागरिकता विधेयक चाहिएन जब सत्ता जोगाउनुपर्ने भयो अनि नागरिकता अध्यादेश ल्याउने काम गरिनु प्रधानमन्त्रीको नियत ठीक छैन,’ उनले भने।  

उनले प्रधानमन्त्रीका गलत कार्यको विरुद्धमा सडकमा पनि कोभिडका कारण जान नसकिएको संसद्मा पनि कालोझण्डा ल्याउन नमिल्ने भएका कारण कालोझण्डा स्वरूप कालो छत्रे टोली लगाएर विरोध जनाएको बताए। उनी कालो टोपीसहित कालो कोर्ट र कालो सर्टमा थिए। प्रधानमन्त्री ओलीले संविधान मिचेका विरोधमा यो ‘गेटअप’मा आएको उनले बताए। उनले हिजो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलेले एउटा खोपको ४ डलर पर्छ भन्ने अहिले चीनबाट खरिद गर्दा १४ डलर भन्ने सुनिएको भन्दै उनले यसलाई स्पष्ट पार्नुपर्ने बताए। एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको बताए। पहिलोपटक विघटित प्रतिनिधिसभा पुर्नस्थापनापछि पनि संसदले केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै उचित भएको उनले बताए।

प्रकाशित: २२ असार २०७८ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App