४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

निवेदकका तर्फबाट जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस सुरु गरेका छन्।

प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस सुरु गर्नुअघि विभिन्न प्रश्नहरु राखेका थिए। उनीहरुले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन्। रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनु हुनेछ।  

त्यसअघि सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनु पर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुक्नु भएको तर्क राखेका थिए। अहिले रिट निवेदकका तर्फबाट जवाफी बहस जारी छ।

प्रकाशित: २० असार २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App