१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

टीकापुर नगरपालिका: वडा विभाजनको मुद्दा पेचिलो

टीकापुर नगरपालिकाको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। बुधवार बसेको कार्यपालिका बैठक वडा विभाजनको प्रस्तावमा विवाद भएपछि स्थगित भएको छ। बैठक बिहिवार बिहान ७ बजेसम्मका लागि स्थगित भएको हो।

बुधवारको बैठकमा वडा विभाजनको प्रस्तावलाई लिएर मेयर तपेन्द्रबहादुर रावल र वडाध्यक्ष रामलाल डगौरा थारुबीच भनाभन भएको थियो। मेयर रावलले राजनीतिक दलहरूले दिएको सुझाव अनुसार अघि बढ्नुपर्ने बताए पछि वडाध्यक्ष थारुले त्यसको प्रतिवाद गरेका थिए। उनले कार्यपालिका बैठकमा छलफल गरेर मात्रै वडा विभाजनको प्रस्ताव नगरसभामा लैजानुपर्ने बताएका थिए।

उनले मेयर रावलले कार्यपालिका बैठकमा छलफल नै नगरी वडा विभाजनको प्रस्ताव नगरसभामा लैजान खोजेको आरोप लगाए। ‘कार्यपालिका बैठकमा छलफल गरेर अघि बढौं भन्ने मेरो भनाई हो,’ उनले भने, ‘तर मेयरले एकलौटी पेलेर जान खोजे।’ उनले सबै जातजातिको मनोभावनालाई सम्बोधन हुनेगरी राजनीतिक दलहरूले दिएको सुझाव भित्रै पनि सहमति जुट्न सक्ने आधार रहेको बताए।

नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले वडा विभाजनको प्रस्तावमा बैठकमा सामान्य छलफल भएको बताए। उनले मेयर र वडाध्यक्षबीच कुनै त्यस्तो विवाद नभएको दाबी गरे। उनले आफू समेत वडा विभाजनको मुद्दा हल हुनुपर्ने पक्षमा रहेको बताए। ‘जनताले दुःख पाएका छन्। वडा विभाजन हुनुपर्छ,’ उनले भने, ‘तर सबैको सहमतिअनुसार अघि बढ्नुपर्छ।’

वडा विभाजनको प्रस्ताव पहिले पनि उठेको थियो। त्यतिबेला समेत विवाद भएपछि यो प्रस्ताव पारित हुन सकेको थिएन। नगरपालिकाले आगामी निर्वाचनमा कायम हुनेगरी वडा विभाजनको प्रस्तावलाई किनारा लगाउने प्रयत्न गरिरहेको छ। यसअघिका कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि मेयर रावलले सुझावका लागि राजनीतिक दलहरूलाई गुहारेका थिए। राजनीतिक दलहरूले हालको वडा नं. १ लाई ५ र २ लाई २ वडामा विभाजन गर्न उपयुक्त हुने सुझाव दिएका छन्। हाल नगरपालिकामा ९ वटा वडा रहेका छन्।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खडक शाहले सबै राजनीतिक दलहरूले सहमति गरेर सुझाव दिएको बताए। उनले राजनीतिक दलहरूले सहमति गरेर दिएको कुराको विपक्षमा जानु मुर्खता हुने बताए। त्यस्तै काँग्रेसका नगर सभापति धनराज उपाध्याय र जसपाका जिल्ला सचिव हरि तिमिल्सिनाले समेत सहमतिकै आधारमा सुझाव दिएको बताए।

नगरपालिकाको वडा नं. १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ। यहाँ ५० हजार जनसंख्या रहेको छ। प्रावधान अनुसार एक वडा बन्नका लागि तराईका हकमा ६४०० जनसंख्या आवश्यक पर्छ। वडा विभाजनको आधार जनसंख्या, भूगोल र राजश्व संकलनलाई मापन गरिएको छ।

असार ६ गते सुरु भएको नगरपालिकाको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति नजुटेपछि लम्बिएको छ। नगरसभा बिहिवार आह्वान गरिएको छ। कुनैपनि प्रस्ताव कार्यपालिका बैठकबाट अनुमोदन गरेर नगरसभामा लैजाने कानुनी प्रावधान रहेको छ। वडा विभाजनको प्रस्ताव नगरसभाको दुईतिहाई सदस्य संख्याले पास गर्नुपर्नेछ। नगरसभामा ४९ जना सदस्य छन्।

तालाबन्दी खुल्यो

टीकापुर नगरपालिका–१ वनगाउँका वासिन्दाले नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको छ। उनीहरूले आफ्ना माग सहितको ज्ञापन पत्र मेयर रावललाई बुझाएपछि ताला खोलेका हुन्। ज्ञापनपत्र बुझदै मेयर रावलले पर्याप्त छलफल गरेर मात्रै वडा विभाजनको विषयमा टुङ्गो लगाउने प्रतिबद्धता गरेपछि ताला खोलेको स्थानीय चम्मन चौधरीले जानकारी दिए।

वनगाउँका स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेर बुधबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। वनगाउँमा थारु समुदायको बसोबास रहेको छ। उनीहरूले नगरपालिकाले आफूहरूलाई अल्पमतमा पार्ने षडयन्त्रअनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन।

स्थानीयले अन्य प्रस्तावित वडाहरूलाई जनसंख्या र भुगोलका आधारमा सुहाउँदो बनाए पनि आफूहरूको बसोबास रहेको वडालाई ठूलो बनाईएको गुनासो पोखे। स्थानीय खुशीराम चौधरीले अन्य प्रस्तावित वडाको भन्दा आफूहरूको बसोबास रहेको वडाको जनसंख्या र भूगोल दुईगुणा रहेको बताए।

‘अरू वडामा जनसंख्या र भुगोल मिलाईएको छ तर हाम्रो वडालाई भने ठूलै राखिएको छ’ उनले भने, ‘यो हामी माथिको अन्याय हो। हामी सधैभरी अन्याय सहेर बस्ने पक्षमा छैनौं।’

वडा विभाजनको मुद्दामा थारु र गैर थारु समुदाय फरक फरक कित्तामा उभिएका छन। कतिपयले यस मुद्दालाई आफ्नो राजनीतिक भविष्यसँग जोडेका छन। राजनीतिक दलहरूले समेत आफ्नो स्वार्थअनुसार वडा विभाजनको मुद्दामा सहमति जनाएको आरोप लागेको छ।

प्रकाशित: १७ असार २०७८ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App