४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेराे नेतृत्वको सरकार बनेपछि पहिलो निर्णय खोप: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमाबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए।

‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने। उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए। ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुने निश्चित नै भए पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए। ‘संसद् त पुनस्र्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन। पुनस्र्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन। त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन। आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने। 

उनले सरकारका सबै असंवैधानिक काम र निर्णयलाई गठबन्धनले स्वीकार नगर्ने पनि बताए। ‘संसद् पुनस्र्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ’, दाहालले भने। उनले प्रधानमन्त्री केपी ओलीको गालीगलौज सुन्न पनि लाज लाग्ने भएको भन्दै उनका अभिव्यक्तिबाट ओरालो लागेको महसुस भएको बताए। ‘खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर संकेतहरू सकारात्मक छन्। राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने कल्पना गरेको थिइनँ’, दाहालले भने।

कार्यक्रममा एमाले नेता माधव नेपालले गठबन्धन लोकतन्त्र जोगाउन बनेकाले आफू दायाँबायाँ नलाग्ने बताएका थिए। ‘नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनुपर्दैन। राष्ट्रप्रति, जनता, संविधान, कानुनको कमिटमेन्ट चाहिएको छ,’ उनले भने। नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने बताउँदै राम्रो संस्कार पनि चाहिने बताए। ‘हामी आफैं अरूलाई भन्छौं, आफू मान्दैनौं। यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,’ नेता नेपालले भने।

प्रकाशित: १५ असार २०७८ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App