४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डेउडियाको श्रद्धाञ्जलीमा गुञ्जियो डेउडा

डेउडिया बोगटीको पार्थिव शरीरमा डेउडा प्रतिष्ठानको झण्डा ओढाउँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिरः पुष्पराज जोशी/नागरिक

सम्झना झलझली, सबैतिर लगार्ई गया  

दिन्छु श्रद्धाञ्जली, अन्तिम भेटमा डेउडियाकी

सम्झी आया गया, यो बोल्याको यो खेल्याको

फर्की फर्की आया, मत फर्की आउन्या हैन  

हार्दिक श्रद्धाञ्जली, आँखा भरी आशु भया  

कति मीठो बोली, अब कैल्यै सुन्नेलाकी  

एक महिना पनि वितेको छैन, धनगढीमा गौरा सकिएको । त्यही गौरामा बरिष्ठ डेउडिया तथा डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीसँग एक आपसमा हात जोडेर डेउडा गाएको विर्सेका छैनन् समकालीन डेउडियाहरुले । हो, तिनै समकालीन डेउडियाहरु लक्ष्मण अधिकारी, धनेश्वरीदेवी रेग्मी र धनसरा साउदले आज उनै डेउडिया बोगटीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिदै डेउडा भाकामा माथिका शब्दहरु अर्पण गरे । उनीहरुको शब्दमा अन्य श्रष्ठा तथा उपस्थित डेउडियाले दोहो¥याए । श्रद्धाञ्जली सभा भावुक बन्यो । गीतेरुहरु डेउडा गाउँदै भक्कानिँदै रोए ।  

धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भएको थियो । उनको पार्थिव शरीरलाई शुक्रबार विहान अन्तिम श्रद्धाञ्जलीका लागि डेउडा प्रतिष्ठानको कार्यालय तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ््गणमा राखिएको थियो ।  

श्रद्धाञ्जलीका लागि सुदूरपश्चिम प्र्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम तथा उनका समकालीन डेउडिया एवम् साहित्यकार, श्रष्ठा, चलचित्रकर्मीले पुष्पगुच्छा, अविर तथा खादा ओढाउनुका साथै डेउडा प्रतिष्ठानले लोगो अंकित झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको पार्थिव शरीर डेउडा प्रतिष्ठानबाटै धनगढीस्थित त्रिवेणी आर्य घाटमा अन्तिम संस्कारका लागि लगियो ।  बोगटीका १०४ वर्षिया आमा, दुई पत्नी दुई छोरा र एक छोरी छन् ।  

प्रकाशित: ४ आश्विन २०८१ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App