४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कुमार रम्तेलले रविलाई भनेका थिएः यो अवस्था आउनुमा तपाईं जिम्मेवार

जिबी राईको सहयोगी कुमार रम्तेलले राई नेतृत्वका सहकारी डुब्नुमा रास्वपा सभापति रवि लामिछाने जिम्मेवार रहेको बयान दिएका छन् । आफूले सो कुरा टेलिफोनमार्फत लामिछानेलाई नै भनेको रम्तेलको बयान छ । 

सहकारी ठगी सम्बन्धी संसदीय विशेष छानबिन समितिले लिएको बयानअन्तर्गत सोधिएको प्रश्न नं. ३४ को उत्तर दिँदै रम्तेलले यो कुरा बताएका छन् । समितिले सूर्यदर्शन सहकारीमा खाता रहेका पोखरा सृजना चोकका र बुटवलको सुप्रिम सहकारीमा खाता रहेका रवि लामिछाने र पूर्व उपप्रधान तथा गृहमन्त्री र प्रतिनिधि सभाका माननीय सदस्य एकै हो ? भन्ने आशयले यो प्रश्न सोधेको छ ।

जसको जवाफमा रम्तेलले भनेका छन्, ‘मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रवि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा।ली।को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु।’ भनेका छन् । तर निज रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न नसक्ने जवाफ दिएका छन्। त्यसपछि रम्तेलले आफूले टेलिफोन संवादमा भएको कुरा खोलेका छन् ।

 ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईँको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईँको भूमिका छ समेत भनेको थिए,’ रम्तेलले अगाडि भनेका छन्, ‘ग्यालेक्सी टिभीमा कम्तीमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरी रहेको अवस्थामा तपाईँले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जिबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।’ रम्तेल पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था कोषाध्यक्ष छन् । उनी हाल सहकारी ठगी मुद्दामा कारागार कार्यालय कास्कीमा छन् । त्यहीबाट झिकाएर समितिले बयान लिएको थियो । गएको वर्ष पुसमा लामिछानेले बुटवल–नारायणगढ पदयात्रा गरेका थिए । त्यही क्रममा आफूले कुरा गरेको रम्तेलले बयान दिएका हुन् ।

 हेर्नुहोस् कुमार रम्तेलसँग समितिले लिएको बयानको पूर्ण पाठ

 

प्रकाशित: ४ आश्विन २०८१ १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App