८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध : प्रभु साह

मौलापुर नगरसभा चलिरहँदा दुई पक्षबीच झडप, दर्जनौँ राउन्ड गोली चल्यो

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्।  

रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गरेका छन्।  

देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गरेका थिए।

२०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन्। विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चित कालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचन्डको महत्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहेर दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप लगाएका छन्।  

मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका छन्। गत ७ असारमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरु राखेर ८ असारमा नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली काँग्रेस, नेकपा एमाले (माधव समूह), माओवादी केन्द्रलगायतका दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा उत्रेको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेका बीच दोहोरो भीडन्त भएको थियो।

दोहोरो ढुँगा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुवैतिरबाट निशाना बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्याँस तथा हवाई फायर गरेको छ । प्रहरीले २३ राउन्ड अश्रु ग्याँस तथा १४ राउन्ड हवाई फायर गरेको छ। यसै क्रममा दुवैतिरबाट भएको ढुंगा प्रहारबाट नौ प्रहरी र तीन सशस्त्र प्रहरी घाइते भएका छन्।

घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  

नगर परिषदको विरोध गर्ने पक्षले नगरपालिकाको हिसाब पारदर्शी हुनुपर्ने माग गर्दै आएको छ। नगरपालिकाले भने नियमसंगत आएमा जुनसुकै समयमा पनि हिसाबकिताब दिन तयार रहेको बताउँदै आएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नियमअनुसार लिखित रुपमा हिसाब किताब माग्न आएमा जुनसुकै बेलामा पनि दिन नगरपालिका तयार रहेको बताएका छन्।  

बाहिर विरोध, प्रदर्शन र झडप भए पनि नगरपालिको बजेट अधिवेशन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। नगरपालिकामा जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले बजेटलाई पारित गरेको बताइएको छ।  

नगर परिषद्का सदस्यहरुले नगरपालिकाको नीति तथा कार्यक्रममा पनि कुनै विरोध नजनाइकन पारित गरेको तथा बजेटमा पनि कुनै किसिमको असहमति नजनाएको पालिकाले जनाएको छ। जनताले निर्वाचित गरेको प्रतिनिधिलाई धम्क्याउँदै अधिवेशन बिथाल्न खोज्ने प्रवृत्ति हावी हुँदै गएकोले यसलाई नियन्त्रण गर्नुपर्नेै मेयर साहको भनाइ छ।  

नगर परिषदले ३६ करोडको बजेट पारित गरेको मेयर रिनाकुमारी साहले जानकारी गराएकी छन्।

यसै गरी रौतहटको ईशनाथ नगरपालिकाको पनि बजेट अधिवेशनको क्रममा केही महिलाले झाडु प्रदर्शन गरेका छन्। नगर सभा बिथोल्न खोज्ने पक्षले केही विरोध गरेको भए पनि ईशनाथको नगरसभा सम्पन्न भएको छ।

जिल्लाको १८ स्थानीय तहमध्ये बिहीबारसम्म एघार पालिकाले नगरसभा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।  

प्रकाशित: १० असार २०७८ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App