१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सदियौँदेखि पछि पारिएका समुदायको आवाज दबाउँदै पीडककै पक्षपोषण गर्नु लज्जास्पद: विवेकशील साझा युवा सङ्गठन

कहालीलाग्दो रुकुम नरसंहारमा देखिएको जातीय विभेदको दानवीय पराकाष्ठाको घटनाको न्यायिक प्रक्रिया चलिरहेकै बेला देशैभरि र खास गरी काठमाडौँ लगायतका सहरहरूमा बारम्बार दोहरिएका विभिन्न घटनाहरूमा विवेकशील साझा युवा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विवेकशील साझा युवा सङ्गठनले बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना भएको बताएको छ। राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद छ भएको विवेकशील साझा युवा सङ्गठनले जनाएको छ।  

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति हामी घोर निन्दा गर्न चाहन्छौँ।'

सामाजिक न्याय र समानुपातिक समावेशिताको जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुने र राज्यले हरेक नागरिकलाई सहानुभूति दिलाउन सक्छ भन्ने विश्वास राख्ने विवेकशील साझा युवा संगठन सरकारलाई यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग माग गरेको छ।  

साथै विवेकशील साझा युवा सङ्गठनले घर र समाजबाट नै जातीय छुवाछुतको मानसिकता र व्यवस्थाकै समूल अन्त्यका लागि नागरिक पहलको नेतृत्व लिन आम नेपाली युवा पंति, नागरिक समाज तथा युवा सङ्घसंगठनसँग अपिल गरेको छ। 

प्रकाशित: १० असार २०७८ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App