५ वैशाख २०८१ बुधबार
राजनीति

कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत देऊ :काँग्रेस

नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिले कोभिडका कारण ज्यान गुमाउने नगरवासीका परिवारको भरणपोषणका लागि प्रति मृतक एक लाख रुपैयाँ राहत दिन माग गरेको छ। बिहीबार  चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसले सो माग गरेको हो।

यसैगरी काँग्रेसले सबै नगरबसीको स्वास्थ्य बीमाको अभियान चलाउन समेत माग गरेको छ।

नगरपालिकाको आगामी नगरसभाको पहिलो लक्ष्य कोभिड नियन्त्रण, स्वास्थ सामग्रीको व्यवस्थापन, स्थायी र भरपर्दो स्वास्थ्य सेवाको तथा रोग नियन्त्रणको लागि बजेट व्यवस्थापनका लागि पर्याप्त ध्यान दिन आग्रह गरेको छ। त्यस्तै सब वडाहरुमा रहेको स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड बमोजिमको परीक्षण सामाग्रीहरु, खोप लगायतको उपकरण भण्डारणको व्यवस्थापन, उच्चस्तरीय ल्यावको व्यवस्था गर्न माग समेत माग गरेको छ।

नगरपालिकाको उत्तरपुर्वी भाग विकासका दृष्टिले पछि परेको उल्लेख गर्दै काँग्रेसले सो क्षेत्रमा महिला तथा बालबालिका केन्द्रीत अस्पताल खोल्न माग गरेको छ।

महिलाहरुमा बढी देखिने पाठेघरको क्यान्सर र प्रसुती सम्बन्धी रोगको उपचारको लागि विशेष व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

चाँगुनारायण ईञ्जिनियरिङ कलेज सञ्चालन सम्बन्धमा कलेजको आयव्यय विवरण, वासलात सार्वजनिक गरी सर्वपक्षीय छलफल र कलेजबारे स्वेतपत्र जारी गर्न कांग्रेसले ज्ञापनपत्रमा माग गरेको छ। नगरभित्रको शैक्षिक संस्थाहरुको प्रभावकारीता लागि श्री कृष्ण मावि, चाँगुनारायण मावि, ताथलीको गणेश मावि, सरस्वती मावि, बाल्मिकेश्वर मावि।, चुनादेवी मावि, आजाद मावि।, देवी मावि गणेश मावि छालिङ, डोलागिरी मावि, महेन्द्रग्राम मावि, कालिका माविलगायतका सम्पुर्ण माविहरुमा स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि काँग्रेसले माग गरेको छ।

ज्ञापनपत्रमा नगरपालिकाले सडक मापदण्ड निर्माण गर्दा सर्वपक्षीय छलफल गर्न आवस्यक नठान्ने र कोही कसैको लहड र स्वार्थमा मापदण्डहरुको हेरफेर भइरहेको आरोप लगाउँदैं सडक मापदण्डका बिषयमा गम्भीर हुन आग्रह गरिएको छ।

काँग्रेस चाँगुनारायण नगर सभापति शिवहरी केसी र नगरप्रमुखमा काँग्रेसका प्रत्याशी उम्मेदवार राजाराम खड्काको नेतृत्वमा ज्ञापनपत्र बुझाउन बागमति प्रदेशसभाका सांसद एवम् नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १का सभापति जीवन खत्री, जिल्ला उपसभापति हरिप्रसाद नेपाल, सहसचिव किरण न्यौपाने, उपप्रमुखका प्रत्याशी एवम् नेपाल महिला संघ भक्तपुरका सभापति सरु बानियालगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ३ असार २०७८ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App