१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार चलाउन नसके फुर्सद लिन मुख्यमन्त्रीलाई सुझाव

नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन्।  

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले सरकारको नेतृत्व गर्ने नसक्नेले पदमा झुण्डिरहनुभन्दा अरुलाई जिम्मा लगाएर फुर्सद लिनु राम्रो हुने बताए। किसानले मल नपाउँदा गत वर्ष हराएको सरकार कोरोना महामारीको दोस्रो लहरमा पनि हराएको कार्कीको आरोप छ।

सरकारले  काम नगर्ने तर, आश्वासनको पुलिन्दा झुक्याइरहेको कार्कीले बताए।  ‘मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ’ कार्कीले भने ‘बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व सुम्पेर फुर्सद लिनुस्।’ सांसद र जनतालाई झुक्याएर मुख्यमन्त्रीले फन्टुस स्यालको व्यवहार देखाइरहेको कार्कीले बताए।

कार्कीले सरकारले आफूले बनाएको अस्पताल बन्द गरेर चर्को शुल्क असुल्ने निजी अस्पतालमा कोरोनाका बिरामीलाई जान बाध्य पारिरहेको आरोप लगाए। ‘विराटनगरमा १० दिनमा निर्माण गरिएको भनिएको अस्पताल बन्द गरेर चर्को शुल्क असुल्ने निजी अस्पतालमा जान जनतालाई बाध्य  पारिएको छ’ कार्कीले भने।

नागरिकहरूका तर्फबाट बनाएको अस्पताल देखाएर सरकारले नाक घोक्राइरहेको कार्कीको आरोप छ। जनतालाई घरभित्र थुनेर सरकारले अनलाइनकक्षाको सपना बाँड्ने काम गरेको उहाँको भनाइ छ। सरकारले चुरेको ढुंगा, बाल्ुवा बेचेर व्यापार घाटा घटाउन ल्याएको योजना लुतोको उपचार गर्न मृगौला बेचेजस्तो मात्रै भएको कार्कीको टिप्पणी  छ।

प्रकाशित: २६ जेष्ठ २०७८ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App